प्रदेशमा पनि भागबण्डा मिलाउन मन्त्रालय फुटाईंदै

प्रदेशमा पनि भागबण्डा मिलाउन मन्त्रालय फुटाईंदै

-पूजा लम्साल

पार्टीमा मन्त्री बन्नेको आकांक्षी थामिनसक्नु भएपछि प्रदेश १ मा सत्ताधारी पाँचदलीय गठबन्धन मन्त्रालय फुटाएर भए पनि भागबण्डा मिलाउने निष्कर्षमा पुगेको छ ।

मन्त्रालय टुक्र्याउन मुख्यमन्त्री राजेन्द्रकुमार राईले सत्ता साझेदार नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मञ्चसँग सहमति लिइसकेका छन् । हालका सातवटा मन्त्रालयलाई फुटाएर ११ पुर्याउने र भागबण्डा मिलाएर केही दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा दलहरु जुटेका छन् ।

हाल प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात वटा मन्त्रालय छन् । जसमध्ये आन्तरिक मामिला तथा कानुन र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयमा काँग्रेसका दुई जना मन्त्री नियुक्त भइसकेका छन् । त्यस्तै, जनता समाजवादीका जयराम यादव सामाजिक विकासमन्त्री छन् ।

समाजिक विकास राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक मञ्चकी विष्णु तुम्बाहाम्फे नियुक्त भएकी छन् । आर्थिक मामिला मन्त्रालय माओवादीले पाएको छ । कृषि, भूमि तथा सहकारी र उद्योग, बन, वातावरण तथा पर्यटनमन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।

प्रदेश १ मा काँग्रेसले ५, माओवादीले ३, एकीकृत समाजवादीले मुख्यमन्त्रीसहित ३ वटा मन्त्रालयको दाबी गरिरहेका छन् । सोहीअनुसार सहमति भए काँग्रेले ३, माओवादी र एकीकृतले थप २ मन्त्रालय लिने छन् । यसबाहेक भागबण्डा मिलाउन केही राज्यमन्त्री पनि नियुक्त्त गर्ने उनीहरुको तयारी छ ।

एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेका राई कात्तिक १७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले नियुक्त भएको १४ आंै दिनमा प्रदेशसभाबाट विश्वासको मत पनि प्राप्त गरिसकेका छन् । उनको पक्षमा गठबन्धनका पाँचै दलका ५० सांसदले मतदान गरेका थिए । विपक्षमा २९ मत खसेको थियो ।

कुल ९२ जना सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ पेश हुँदा ७९ जनाले मात्र मतदान गरेका थिए । प्रमुख विपक्षी दल एमालेका सभामुखसहित ४१ मध्ये ११ जना सांसद मतदान गर्न संसदमा उपस्थित भएका थिएनन् । एमाले सांसद तथा पूर्वमुख्यमन्त्री शेरधन राईसमेत मतदान गर्न संसदमा आएनन् । तटस्थ रहेको एक सिटे राप्रपा पनि मतदानमा अनुपस्थित भयो ।

टिप्पणीहरू