विप्लवको धम्कीप्रति पत्रकार महासंघको आपत्ति

विप्लवको धम्कीप्रति पत्रकार महासंघको आपत्ति

-अमृत बास्कुने

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले कार्यालय व्यवस्थापनका लागि बेनी नगरपालिकासँग भाडामा लिएको भवन तथा जग्गामा कार्यालय व्यवस्थापनमा भएको अवरोध तथा पत्रकारहरुलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बेनी नगरपालिकालाई आफूले भाडामा लिएको जग्गामा कार्यालय व्यवस्थापनका लागि सहजीकरण गरिदिन अनुरोधसहित पत्राचार गरिएको विषयमा समाचार प्रकाशन र प्रशारण गरेको भन्दै शाखाका अध्यक्ष प्रकाश पौडेल, सदस्य कृष्ण जिसीद्वारा सञ्चालित जलजला अनलाइनको नाम किटान गरी ‘नेपाल कम्युनिष्ट पार्टी, म्याग्दी’ का जिल्ला सेक्रेटरी ‘दिपा’ को नामबाट आज बिहान विज्ञप्ति सार्वजनिक गरिएको छ ।‘शान्तिपुर्ण खुल्ला राजनीतिमा आएको दलका जिम्मेवार नेताले सञ्चारमाध्यममा प्रकाशन, प्रशारण भएका समाचारका विषयमा चित्त नबुझेमा सम्बन्धित सञ्चार माध्यमबाट नै खण्डन गर्ने र कानुनी उपचार खोज्नुको विकल्पमा जिल्लाका सबै पत्रकारहरुलाई आक्षेप लगाएर विज्ञप्ति मार्फत धम्काउन खोज्नुले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमाथि प्रहार भएको महशुस गरेका छौ,’ शाखा सचिव सन्तोष गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । स्वतन्त्र रुपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण बनाउन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको ग्यारेण्टी र सुरक्षाको प्रत्याभूति दिलाउनसमेत पत्रकार महासंघले माग गरेको छ ।बेनी नगरपालिकाको नाममा वडा नम्बर ७ मा रहेको १४१९ कित्ता नम्बरको ४ आना जग्गामा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय व्यवस्थापन गर्न २०७६ मंसिर १७ गते बेनी नगर कार्यापालिकाको पूर्ण बैठकबाट निर्णय भएको थियो । बैठकको निर्णयबमोजिम वार्षिक दश हजार रुपैयाँ भाडा तिर्नेगरी २०७६ पुस ३ गते नगरपालिकाको तर्फबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा र नेपाल पत्रकार महासंघ म्याग्दीको तर्फबाट तत्कालीन अध्यक्ष तारानाथ शर्माबीच सम्झौता समेत भएको थियो ।

सम्झौता मुलुकीसंहिता–२०७४ को परिच्छेद १२ दफा ६१२ र ६१७ को उपदफा ‘क’ बमोजिमका बुँदासहित भएको बताइन्छ । संहिताको दफा ६१७ को उपदफा (क) मा घर निर्माण गर्न लिइएको घर जग्गा वा घर निर्माण भई भोगचलनमा रहेको घरजग्गा भएमा ३५ वर्ष सम्झौता कायम रहने उल्लेख छ ।महासंघले गत असार २७ गते १४०६ नम्बरको रसिदबाट नगरपालिकालाई दुई वर्षको भाडा वापत २० हजार रुपैयाँ उपलब्ध गराइसकेको शाखा कोषाध्यक्ष अमित विश्वकर्माले बताउनु भएको छ । पत्रकार महासंघ म्याग्दी शाखाको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको भए पनि नेकपाको अवरोधका कारण उक्त बजेटसमेत कार्यान्वयनमा समस्या देखिएको महासंघ म्याग्दीले जनाएको छ । भाडामा दिने नगरपालिका र लिने महासंघबीचको विषयमा अरु पक्षहरुको सम्बन्ध नरहेको उसले स्पष्ट पारेको छ ।

नगरपालिकाले पत्रकार महासंघलाई भाडामा दिएको जग्गामा रहेको भवनमा नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको संरक्षण र आडमा मंगला गाउँपालिका १ कुहुँकी समीक्षा विश्वकर्मा बस्दै आएकी छन् ।

जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको बेनी ब्यारेक, प्रमुख जिल्ला अधिकारी एवम् राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृतको सरकारी निवासको एक सय मिटर नजिकै खुल्ला राजनीतिमा आएको दलले सरकारी एवम् व्यक्तिगत जग्गा तथा भवन कब्जा गरेर बस्दा समेत सुरक्षा निकायहरु मौन बसेको स्थानीयले अचम्म मानेका छन् ।

टिप्पणीहरू