काँग्रेसको अधिवेशनमा विद्यालय बन्द

काँग्रेसको अधिवेशनमा विद्यालय बन्द

नेपाली काँग्रेसको १४ औं अधिवेशनको निम्ति स्थान तोकिएको भन्दै विद्यालय बन्दको निम्ति पत्राचार गरिएको छ । बैतडी जिल्ला सदरमुकाम आसपासमा रहेका चार वटा विद्यालयलाई हिजो पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न स्थानीय नगरपालिकाले समेत आग्रह गरेको हो ।

विद्यालयमा अधिवेशन गर्न बैतडीको नेपाली काँग्रेस जिल्ला समितिले चार वटा विद्यालयलाई मंसिर ५ गतेदेखि ७ गतेसम्म पठनपाठन बन्द गराउन पत्र पठाएको हो ।

दशरथचन्द नगरपालिकाका वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेक, जगदम्बा माध्यमिक विद्यालय, रानीबुंगा, दशरथचन्द माध्यमिक विद्यालय सुन्दरखाली र दशरथचन्द आधारभूत विद्यालय गढीलाई तीन दिनसम्म विद्यालय बन्द गर्न पत्र पठाइएको छ ।

दशरथचन्द नगरपालिकाका मेयरसमेत रहेका काँग्रेसका बैतडी सभापति नरेन्द्रसिंह थापाले तीन दिनको क्षेत्रीय र जिल्ला अधिवेशन उद्घाटन तथा नेतृत्व चयनको निम्ति चुनाव गर्नु पर्ने भएकाले आवश्यक भवन तथा फर्निचर उपलब्ध गराउन आग्रह गरेका छन् ।

विद्यार्थीको पढाइ अवरुद्ध पारेर राजनीतिक कार्यक्रम गर्न लागिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । तर, काँग्रेस अधिवेशनका लागि पत्र आएसँगै विद्यालय प्रशासनले शिक्षा विकास तथा समन्वय इकाईसँग छलफल थालेको बताइएको छ । तर विद्यालयमा राजनीतिक कार्यक्रमको गर्न नहुने आवाज उठे पनि सम्बन्धित निकायले नदेखेझैँ गरेको स्थानीयको गुनासो छ ।

टिप्पणीहरू