सुनकोशी–मरिन सुरुङमा अमेरिकी मेसिनको प्रयोग : दूतावास

सुनकोशी–मरिन सुरुङमा अमेरिकी मेसिनको प्रयोग : दूतावास
सुन्नुहोस्

काठमाडौंस्थित अमेरिकी राजदूतावासले सुनकोशी–मरिन सुरुङ मार्ग रोबिन्स कम्पनीको विश्वस्तरीय अमेरिकी टनेल बोरिङ मेसिनले छेडेको जनाएको छ । नेपालको लागि राष्ट्रिय गौरवको परियोजना रहेको उक्त परियोजनाले तराई–मधेस क्षेत्रमा जलस्रोतमा पहुँच सुधार गर्ने लक्ष्य राखेको दूतावासको भनाई छ । 

दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘अमेरिकी टेक्नोलोजीले केवल १९ महिनामा काम सम्पन्न गरेको छ जुन समय तालिकाभन्दा ११ महिना अगाडि हो ।’ अत्याधुनिक टनेल–बोरिङ–मेसिन टेक्नोलोजीले नेपालमा प्रमाणित रूपमा सफलता प्राप्त गरेको जनाउँदै राजदूत डिन आर थम्पसन उक्त समारोहमा उपस्थित भएर सुरुङ ब्रेक थ्रुको अवलोकन गर्नुभएको उल्लेख छ ।

उक्त बहुउद्देशीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहकाबीच आज गर्नुभएको हो । समारोहमा उच्च सरकारी अधिकारी र विभिन्न मुलुकका कुटनीतिज्ञको पनि उपस्थिति थियो । नेपालका लागि चिनियाँ र अमेरिकी राजदूत कार्यक्रममा सहभागी हुनुभएको हाे ।

टिप्पणीहरू