श्रीमानहरुका बीचमा के-के पाक्दैछन् ?

श्रीमानहरुका बीचमा के-के पाक्दैछन् ?

प्रधानन्यायाधीश चोलेन्द्र समशेरलाई राजीनामा गराउनुपर्ने सम्बन्धी विवादले दुई खेमामा विभाजित सर्वोच्च अदालतका न्यायाधीशहरुले झण्डै एक महिनापछि कित्ता परिवर्तन गर्न थालेका छन् । यसअघि प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाएर अघोषित आन्दोलनमा होमिएका १९ मध्ये ६ जना न्यायाधीश बेञ्चमा फर्किने निर्णयमा पुगेसँगै अरुमाथि दबाब परेको छ भने बार थप आन्दोलनमा जान कस्सिएको छ ।

आन्दोलनकारी न्यायाधीशहरुको समूहबाट थप ६ जना समयानुकूल केही सुधारसहित बेन्चमा फर्केर सेवाग्राहीको मर्का सुनुवाइ थाल्ने सोचमा पुगेको बताइएको छ । जानकार स्रोतले दिएको जानकारीअनुसार सोमबारको छलफलमा ती न्यायाधीशले बेञ्चमा फर्किनुपर्ने आशय प्रकट गरेका थिए । तीमध्ये न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ,मनोज शर्मा,कुमार चुडाल, प्रकाश ढुंगाना र कुमार रेग्मी नियमित सुनुवाइमा फर्किनुभएको छ भने बिश्वम्भर श्रेष्ठ र सुष्मालता माथेमाले पनि हिजो एक थान मुध्दाको सुनुवाइ गर्नुभएको छ ।

इजलासमा फर्किनुपर्ने पक्षमा रहेका न्यायाधीशहरुको नाम बताउन अस्वीकार गर्दै स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशको राजीनामाको अडानलाई कायमै राखेर इजलास बहिष्कारको निर्णय पुनरावलोकन नगरे आफूहरुको साथ नहुने श्रीमानहरुले छलफलमा प्रष्ट बताउनुभएको छ ।’

पछिल्ला छलफलमा कडा रुपमा प्रस्तुत हुनुभएका उहाँहरुले अन्त्यहीन आन्दोलनबाट न्यायालयलाई मुक्त गर्नुपर्ने अडान राखेको बुझिएको छ । यसमा अहिले इजलासमा फर्किनसकेका तर फर्किने तरखरमा रहेका अन्य पाँच जना न्यायाधीशले पनि समर्थन जनाएको दावी गरिएको छ ।

छलफलमा केही दिनअघि मात्रै घरायसी ब्यवहारबाट फर्किएर ‘विद्रोही’ समूहमा सक्रिय रहनुभएका भनिएका एक जना न्यायाधीशले बारसँगको ‘विशेष’ सम्बन्धलाई लिएर असन्तुष्टि जनाउनुभएको स्रोत बताउँछ । इजलासमा फर्किनुपर्ने केही न्यायाधीशको धारणाप्रति एकाध वरिष्ठ न्यायाधीशहरुले बारसँग सोध्नुपर्ने बताएपछि उहाँ छलफलमै रिसाउनुभएको हो ।

‘हरेक कुरा त्यतै सल्लाह गरेर मात्रै निर्णयमा पुग्नुपर्ने भए फैसला पनि उहाँहरुलाई सोधेरै गर्ने हो कि ?,’

‘हरेक कुरा त्यतै सल्लाह गरेर मात्रै निर्णयमा पुग्नुपर्ने भए फैसला पनि उहाँहरुलाई सोधेरै गर्ने हो कि ?,’ भन्दै उनै श्रीमानले कटाक्षपूर्ण टिप्पणी गर्नुभएको स्रोतको दाबी छ । तर उक्त भनाइलाई बेञ्चमा फर्किनु पर्ने पक्षमा उभिएका न्यायाधीशहरुले समर्थन गरेको बताइन्छ । हुन पनि बारको कोटाबाट न्यायाधीश बनाइने सिस्टमले अन्ततः ल्याउने परिणाम यस्तै नै हो,जसले आफ्नो समुदायसङ्ग अलग्गिन दिदैन ।

न्यायाधीशहरुको छलफलमा प्रधानन्यायाधीशको लाइनमा रहेका वरिष्ठ न्यायाधीशहरु भने तीब्र असन्तुष्टिका साथ प्रस्तुत हुने गरेको पनि सर्वोच्च स्रोतको दाबी छ । एक–दुई जना न्यायाधीशले भने आफूलाई मझधारमा उभ्याउने कोशिस गरिरहनुभएको छ । अघिल्ला छलफलदेखि नै खासै धारणा नराखेका एक न्यायाधीशले वीचमा बिदा बसेर आफूलाई दुबै कित्तामा नरहेको संकेत दिइसकेका छन् ।

‘विद्रोही’ ग्रुपबाटै पनि विद्रोह गरेका न्यायाधीशहरुको तर्क छ, ‘यसरी अन्त्यहीन आन्दोलन गरेर न्यायालयलाई कहिलेसम्म गत्यावरोधमा राख्ने ? न्यायाधीशहरुले घाम तापेर बस्न मिल्दैन,बेञ्चमा बस्नुपर्छ । लामो समय इजलास बहिष्कार गर्दा आमरुपमा समेत गलत सन्देश जान थालेको छ ।’ उहाँहरुको थप तर्क छ, ‘बेलैमा निर्णय सच्याउनु न्यायालय र न्यायाधीशहरुका लागि पनि हितकर हुनेछ ।’

पछिल्ला छलफलमा केही न्यायाधीशहरुको प्रस्तुतिलाई लिएरसमेत विद्रोही न्यायाधीशहरु खुशी नभएको बताइन्छ । बैठकको सिनारियो बताउँदै स्रोतले भनेको छ, ‘छलफल कोठामा छिरेर चिया खाने अनि एक जनाले प्रधानन्यायधीशलाई गाली गर्ने त्यसपछि अरु गलल हाँस्ने काम दैनिकीझैँ भएको छ । न्यायमूर्तिहरुको छलफल र बैठकमा विद्यार्थी युनियनहरुको जस्तो कार्यशैली अपनाउनु हुँदैन भन्नेमा पुगेपछि उहाँहरु बेञ्चमा फर्किने निर्णयमा पुग्नुभएको हो ।’

कात्तिक ८ गतेदेखि लगातार बेञ्च बहिष्कार गरिरहेका न्यायाधीशहरू तत्काल गोलाप्रथामार्फत पेसी तोक्ने र भविष्यमा अटोमेसनमा जान प्रधानन्यायाधीशलाइ दबाब दिने र सँगै मुद्दा पनि हेर्ने निर्णयका साथ इजलासमा फर्किएका हुन् । यद्यपि उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामाको अडानबाट ब्याक भएको भनेर बताइसकेका छैनन् ।

केही दिनअघि बारका पदाधिकारीसँगको छलफलमा न्यायाधीशहरुले बेञ्चमा फर्किए पनि राजीनामाको माग यथावत रहेको बताएका थिए । तर, आफ्ना अडानले न्यायालयलाई अन्त्यहीन गतिरोधमा फसाउन नहुनेमा भने उनीहरु सचेत रहेको बताइन्छ ।

टिप्पणीहरू