भारतमा दुई महिला पत्रकार पक्राउ, झुठो समाचार रोकिएको प्रहरीको दाबी

भारतमा दुई महिला पत्रकार पक्राउ, झुठो समाचार रोकिएको प्रहरीको दाबी

भारतको उत्तरपूर्वी राज्यमा दुई जना पत्रकारलाई पक्राउ गरिएको समाचार छ । भारतीय सञ्चारमाध्यमका अनुसार धार्मिक रूपमा उत्प्रेरित हिंसाजन्य समाचार संकलन गर्न गएका दुई पत्रकारलाई प्रशासनले पक्राउ गरेको जनाइएको छ ।

डिजिटल न्यूज नेटवर्कका दुई जना महिला पत्रकारहरू त्रिपुरा राज्यमा यसै महिना भएका दक्षिणपन्थी प्रदर्शन र मस्जिद तोडफोडका समाचारको रिपोर्टिङ गर्न जाँदा पक्राउ परेका हुन् ।

राज्य सरकारले भने धार्मिक हिंसाका समाचार गलत रहेको बताएको छ । भारतको गृह मन्त्रालयले त्रिपुरामा मस्जिदहरू तोडफोड गरिएको रिपोर्टहरू ‘असत्य’ र ‘तथ्यहरूको पूर्ण तवरले गलत व्याख्या’ भएको बताएको छ ।

यता त्रिपुरा प्रहरीले सामाजिक सञ्जालमा एकजना पत्रकारले पोष्ट गरेको भिडियोलाई प्रहरीको अनुसन्धानबाट प्रमाणित हुन नसकेको झुठो समाचार भनेको छ ।
पक्राउ परेका महिला पत्रकारहरु समृद्धि के सकुनिया र स्वर्ण झाले आक्रमणमा परेका भनिएका त्रिपुराका केही मस्जिदहरूको भ्रमण गर्दै आगलागीबाट क्षतिग्रस्त मस्जिद र इस्लाम धर्मको पवित्रग्रन्थ कुरान जलाइएको फुटेज सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप प्रहरीको आरोप छ ।

त्रिपुरामा तीन दिन रहँदा पत्रकार सकुनियाले आफ्नो रिपोर्टिङका केही अभिलेख र भिडियोहरू र ट्विटरमा पोष्ट गरेकी थिइन् । एउटा पोष्टमा सकुनियाले मुस्लिम पुरुषहरूको समूहसँग बोल्दै गरेको फोटो देखिन्छ भने मस्जिद तोडफोड गरिएको तस्बिरहरू समेत हालेकी छन् ।

त्रिपुरासँग सीमा जोडिएको अर्को राज्य आसामका प्रहरी अधिकारीहरूले आइतबारर दिल्ली फर्कने क्रममा ती महिला पत्रकारलाई रोकेका थिए । त्रिपुरा प्रहरीले सोमबार बिहान उनीहरूलाई लिन नआउन्जेल रातभर पुलिस स्टेशनमा थुनेका थिए ।

२० वर्ष उमेरका ती दुई पत्रकारलाई आपराधिक षड्यन्त्र, साम्प्रदायिक असमानता फैलाएको र शान्ति भंग गरेको अभियोग लगाइएको छ । तर अदालतले सकुनिया र झालाई सोमबार दिउँसै जमानतमा रिहा गरिसकेको छ ।

उनीहरूका वकिलले कुनै आपराधिक उद्देश्य नभएको भन्दै इजलाससमक्ष मुद्दा खारेजीको लागि आग्रह गरेका थिए । पत्रकार सकुनियाले ट्वीटरमा लेख्दै आफू र झालाई समाचार लुकाउने हिसाबले हिरासतमा राखिएको बताएकी छन् ।

भारतमा, हिन्दू बहुसंख्यक र मुस्लिम अल्पसंख्यकहरूबीच हुने यदाकदाको तनाव प्रायः ह्रिंसक बन्ने गरेको छ । त्यहाँ धार्मिक संवेदनामा ठेस लाग्ने वा साम्प्रदायिक हिंसा भड्काउन सक्ने भाषण वा गतिबिधि गर्ने व्यक्तिलाई सोझै अभियोग लगाउन सक्ने अधिकार नागरिक र प्रहरीलाई दिइएको छ ।

भारतको उत्तरपूर्वी राज्यमा भएको भनिएको पछिल्लो घटनालाई बंगलादेशमा हालै भएका केही धार्मिक उद्दण्डतापूर्ण गतिबिधिको बिरोधसँग जोडेर हेरिएको छ ।

टिप्पणीहरू