समृद्धि ल्याउने खोयाबिर्केमाथि किन कुदृष्टि ?

समृद्धि ल्याउने खोयाबिर्केमाथि किन कुदृष्टि ?

–कौशल चेम्जोङ

अहिले खोयाबिर्के रक्सीको ‘ब्याण्ड भर्सेस ब्राण्ड’को चर्चा हुन थालेको छ । ब्याण्ड भर्सेस ब्राण्डको अभियन्ताको रूपमा देखिएकी एमाले सभासद उषाकला राईकै खोटाङ जिल्लामा रक्सी पोखेको घटना बाहिरिएपछि सेलाएको चर्चाले पुनः बजार पाउन थालेको हो । यो घटनाको समर्थनमा भन्दा विरोधमा बढी आवाज मुखतरित हुन थालेको देखिन्छ ।

र, यस्तो किन भयो ? परम्परा मात्र होइन, जीविकासँग जोडिएको लोकल रक्सी (अर्थात् कोदो, भात वा विभिन्न फलफुलबाट बनाइने, जुसलाई ठर्रा वा लोकल वा खोयाबिर्के वा यस्तै विभिन्न भूगोल र लवजका आधारमा चिनिन्छ ।) पोखेर स्थानीय प्रशासन र जनप्रतिनिधिले निकै राम्रो काम गरेको भन्ठाने पनि भुइँमान्छेको प्रतिक्रिया सकारात्मक छैन । रक्सी ‘खानै नहुने चिज’ हो भनेर कसैले प्रमाणित गर्न सकेको छैन । यस्तो अवस्थामा निम्न आय भएका अतिविपन्न सबैजसो परिवारको जीविकाको मुख्य वा सहायक आधार बनेको रक्सी खोसेर फाल्नु अनुचित हुन्छ ।

सरकारले जीविकोपार्जनको लागि विकल्प नदिने अनि जीविकोपार्जनको लागि ठर्रा बेच्नेविरुद्ध जेहाद छोड्ने काम गर्नु हुँदैन । वर्गीय दृष्टिकोणका आधारमा भन्ने हो भने ठर्रा पोखेको घटना गरिबको पेटमा मदिरा माफियाको तलुवा चाट्नेहरूको हमला हो । औषधीय गुण भएको ठर्रालाई नष्ट पारेर स्पिरिट बेच्ने मदिराका माफिया र तिनका मतियारको वर्गीय हमला हो ।

ब्राण्ड भनिएका रक्सीका विभिन्न जात रम, ह्विस्की, ब्राण्डीलगायत रक्सी रोक्न नसक्ने, पोख्न नसक्नेले मैले खाने कोदोको रक्सीमा मिसाइएको (पाखानवेद, खयर, विभिन्न फलपूmल र स्यालको मासु) औषधीय गुण रोक्ने अधिकार नहुनुपर्ने हो । रेड, ब्ल्याक, ब्लु लेवलमा रमाउनेहरूले हाम्ले खाने अन्नी, चिउरी, कोला, सिमल तरुल, सुन्तलाको रक्सीसँग यतिविघ्न रिसइवी किन ? किनभने गरिबले ब्राण्डेड रक्सी पिउन गाह्रो छ । उनीहरू ब्राण्डेडभन्दा ब्यान्ड पिउँछन्, जुन सस्तो र अनि स्वास्थ्यवर्धक पनि छ । तसर्थ यो वर्गीय हमला मात्र होइन, साँस्कृतिक आक्रमण पनि हो । गरिब र मध्यमवर्गीय परिवारको पिउने चलनमाथिको अतिक्रमण हो ।

केही स्वनामधन्य अभियन्तालाई लाग्दो हो रक्सीले घरपरिवार बर्वाद पार्छ । विभिन्न किसिमका अपराध बढाउँँछ । यिनले चिच्याएजस्तै विभिन्न खाले अपराधका लागि खोयाबिर्के दोषी हो ? होइन । यो त ‘काम बिगार्ने भालु, कुटाइ खाने कालु’ भनेजस्तै हो । अपराध बढाउने कुरा त शक्ति हत्याउने खेलमा, पैसा र यौनमा छ, बेरोजगारीमा छ । मो. आफ्ताब आलमले रक्सी खाएरै भट्टिमा मान्छेलाई जलाएका हुन् त ? अहिले वैदेशिक रोजगारीका कारण हुने गरेको पारपाचुके रक्सीकै कारणले भएको हो त ? घटनाको सही विश्लेषण गर्न नसक्ने अनि दोष खोयाबिर्केलाई थोपर्ने चलन राम्रो होइन ।

घरेलु मदिरा बन्द गर्नुपर्छ, यसले अपराध बढायो भन्नेले ब्राण्डेड रक्सीले अपराध बढायो भनेर कहिल्यै गुनासो गरेको सुनिएको छैन । रक्सी त रक्सी हो, चाहे त्यो जुनसुकै लेवल वा ब्राण्डको किन नहोस् । त्यो रक्सी खराब हुन्छ भने यो रक्सी पनि खराब हुन्छ । यो रक्सी खराब हो भने त्यो रक्सी पनि खराब हो । त्यसैले एउटै रक्सीलाई ‘विष र अमृत’ बनाउने व्यापार बन्द गर । सक्छौ सरकार दुवैखाले रक्सी बन्द गर, सक्दैनौ ‘हाम्रो अनि राम्रो’ खोयाबिर्केमाथि बेलाबेलाको आक्रमण तुरुन्तै बन्द गर ।

खोयाबिर्केले देश र जनताको समृद्धि रोक्ने राय दावी केही स्वनामधन्य विद्वान् गर्छन् । नेपालीले करिब १२ लिटर प्रतिव्यक्ति वार्षिक रूपमा मदिरा सेवन गर्छन् । तर, संसारकै धनी देशको सूचीमा सामेल स्विट्जरल्यान्डवासी अर्थात् स्वीस नागरिकले त ३४ दशमलव ४ लिटर प्रतिव्यक्ति वार्षिक रूपमा रक्सी पिउँछन् । खै कहाँ स्वीसहरूको समृद्धि रोकियो ? रक्सीले समृद्धि रोक्ने हो भने स्विटजरल्याण्ड गरिबको सूचीमा हुनुपर्ने हो ।

तर, स्विटजरल्याण्ड धनी मुलुक हो । धनी भनिएका देशले आफ्नो घरेलु रक्सीलाई ब्राण्डको रूपमा विकास गर्र्दै लघु उद्योगबाट बहुराष्ट्रिय उद्योगका रूपमा विकास गरेका छन् र यसबाट अर्बाैं डलर कमाएका छन् । अहिले हामीले खाने बियर यसको एउटा उदाहरण मात्र हो । र, हाम्रै रक्सी पनि कोदोको रक्सी भनेर ब्रिटेनमा बस्ने प्रवासी नेपालीले ब्राण्ड बनाई निर्यात गर्न थालिसके । र, संसारकै उत्कृष्ट ५० को श्रेणीमा कोदोको रक्सीको गणना गरिसके ।

हाम्रै नेपालमा भने कोदोको रक्सीलाई पोखेर ठालू बन्ने मदिरामाफियाका पल्टनेहरू छन् । यिनका बुद्धिमा खोयाबिर्केले विसंगति, विकृति मात्रै ल्याउँदैन समृद्धि पनि ल्याउँछ भनेर कहिले घुस्ने होला ? बहस गरौँ, रक्सी बन्द होइन उत्पादन गरौँ । हामीसँग भएको कच्चा पदार्थ र स्रोतको अत्यधिक उपयोग गरौं । खोयाबिर्के उत्पादकलाई लघु उद्यमीको रूपमा मान्यता दिलाऔं, उद्योगको रूपमा विकास गरौं । देशको आम्दानी बढाउने खोयाबिर्केको विरोध गरेर बहुराष्ट्रिय दारु कम्पनीको दलाल नबनौंं ।

टिप्पणीहरू