बर्थडे मनाउँदै गर्दा ग्याङ्फाइट, एक युवकको ज्यान गयो

बर्थडे मनाउँदै गर्दा ग्याङ्फाइट, एक युवकको ज्यान गयो

मोरङको बुढीगंगा गाउँपालिका ६ कोयलपुरमा दुई समूहबीच भएको ग्याङ्फाइटमा एक जनाले ज्यान गुमाएका छन । हिजो राति भएको दोहोरो झडपमा निधन भएका युवक धनकुटा पाख्रीबासका २६ वर्पीय रिजन दाहाल हुन् ।

मृतक दाहाल सोही स्थानमा घर भएका साथी नानु लिम्बुको भतिजिको बर्थडे मनाउन गएका थिए । उनी इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्थे । दाहालसँग आरोपित स्थानीय युवाहरुसँग बर्थडे पार्टीमा विवाद भएको बताइन्छ ।

बर्थडे पार्टीमा मदिरा सेवन गरेका बुढीगंगा ६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बु र सुनसरीको इटहरी ११ का २२ वर्षीय राजु तामाङलगायतको समूहले दाहालमाथि खुकुरीलगायतका धारिलो हतियारले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतक दाहालको टाउकोमा खुकुरीको गहिरो चोट लागेको छ । टाउकोमा गम्भीर चोट लागेका दाहाललाई उपचारको निम्ति अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको हो । शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगरमा राखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा बुढीगंगा ७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा ४ देब्रेबास घर भइ इटहरी १३ बस्ने २४ वर्षीय कमल थापालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

टिप्पणीहरू