पार्टी बैठक निजी निवासमा ? यो हुन सक्दैन : प्रकाशमान सिंह

पार्टी बैठक निजी निवासमा ? यो हुन सक्दैन : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको निजी निवासमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टी व्यक्त गर्नु भएको छ । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा राखिएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा कार्य समितिको बैठक गलत भएको उहाँले बताउनुभएको छ ।

नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न वडा तथा पालिका अधिवेशनहरु समेत मान्य नहुने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा डडेलधुरामा गरिएको अधिवेशन मान्न सकिँदैन ।’

सिंहले क्रियाशील सदस्यताको विवाद देखिएका ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टीको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दवाब दिनुभएको छ । उहाँले राजनीतिक न्याय दिन पार्टी नेतृत्वसँग माग गर्नुभयो ।

विधि र नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सँधै कार्यकर्तामाथि अन्याय गरेको उहाँको ठहर छ । त्यसैले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्क गर्दै उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वले अब महाधिवेशन सार्ने अवस्था छैन ।’

टिप्पणीहरू