चुनाव कहिले हो कहिले, भाषणचाहिँ अहिले

चुनाव कहिले हो कहिले, भाषणचाहिँ अहिले

– वैकुण्ठ ढकाल

चुनावमा उठ्ने, मतदातालाई प्रभावित गर्ने अनि फेरि अर्को पटक चुनावमा गएर भाषण गर्ने नेताको संख्या बाक्लो छ । त्यस्तै नेता चुनावी भाषणका लागि पुगे । भाषण गरे । प्रतिस्पर्धी उम्मेदवारलाई गालीगलौज गरे । अनि आश्वासनका लामो सूची प्रस्तुत गरे । सभामा सहभागी केहीले प्रश्न गरे, तपाईंले योभन्दा अघि गरेका आश्वासन त पूरा भएका छैनन् ? नेताले जवाफ दिए– ‘पुराना कुरा छाड्दिनुहोस्, अब नयाँ कुरा गरौं । अब म यहाँ मोटर गुड्ने पुल बनाइदिन्छु ।’

‘यहाँ खोला नै छैन किन पुल चाहियो ?’
‘ठीक छ त, म यहाँ खोलो पनि बनाइदिन्छु ।’

ठ्याक्कै यस्तै शैलीको भाषण हुन थालेको छ । प्रधानमन्त्री भइसकेका नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपालको भाषण सुन्दा यस्तै लाग्छ । ओलीले दाहाल र नेपालमाथि व्यक्त गरेका धारणा यस्तै हुन् । नेपाल र दाहालले ओलीमाथि गर्ने विषवमन पनि यस्तै हुन् । नेपालमा चुनाव हुने कहिले हो कुनै निश्चित छैन । आवधिक निर्वाचन समयमा नभएको लामो इतिहास छ ।

लामो संघर्षपछि संविधानसभाबाट बल्लतल्ल जारी भएको संविधानअनुसार पहिलो पटक प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय सरकारको निर्वाचन भएको छ । संविधानअनुसार दोस्रो निर्वाचन हुन अझै कम्तीमा एक वर्ष लाग्छ । संविधानअनुसार संघीय र प्रादेशिक संसद्को कार्यकाल पाँच वर्षको हुन्छ । त्यसअनुसार २०७९ मंसिर १० सम्म संसद्को कार्यकाल छ ।

०७४ मंसिर १० र २१ मा गरेर दुई चरणमा प्रदेश र संघीय संसद्को निर्वाचन भएको थियो । यसको अर्थ प्रदेश र संघीय संसद्को चुनाव आउन अझै पूरापूर एक वर्षभन्दा बढी समय बाँकी छ । स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणको निर्वाचन २०७४ वैशाख ३१ मा भएको हो । संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

संविधानको यो व्यवस्थाअनुसार, पहिलो चरणमा भएको निर्वाचनलाई आधार मान्दा अझै ६ महिना बाँकी छ । संविधानमा गरिएको व्यवस्थाअनुसार कार्यकाल सकिएको ६ महिना अर्थात् २०७९ कात्तिक महिनाभित्र निर्वाचन गर्दा हुन्छ । यसो भयो भने स्थानीय तहको चुनाव आउन अझै एक वर्ष लाग्न सक्छ ।

हुन त निर्वाचन आयोगले स्थानीय तहको चुनाव ५ चैतभित्र गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ । यसअघि तीन चरणमा भएको थियो । पहिलो चरणको ०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ७ गते सकिँदै छ । सत्ता गठबन्धनका शीर्ष नेताहरू दाहाल र नेपाल ‘अर्ली इलेक्सन’ कुनै पनि हालतमा नहुने दाबी दिइरहेका छन् । तर उनीहरू नै चुनावी शैलीको भाषणमा प्रतिस्पर्धा गर्दै छन् । सुन्दा लाग्छ– तत्काल चुनावी प्रतिस्पर्धा हुँदै छ ।

चुनावी शैलीको भाषणमा एमाले अध्यक्ष ओली सबैभन्दा अगाडि छन् । संसद्मा सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षको कुर्सीमा पुगेका ओलीले सकेसम्म चाँडो निर्वाचन होस् भन्ने चाहिरहेका छन् । जसले दुई दुई पटक भ्रुणहत्या ग¥यो उसैलाई सन्तानको धेरै माया भनेजस्तो गरिरहेका छन् । दुईपटक संसद् विघटन गरेका ओलीलाई सर्वोच्च अदालतले प्रधानमन्त्रीको कुर्सीबाट ओराल्दिएको थियो । साउन २९ गते बालुवाटारबाट बालकोट फर्किएसँगै ओलीले चुनावकेन्द्रित भाषणलाई प्राथमिकता दिएका छन् । ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने र जस्केलाबाट नभई मूल बाटोबाटै सरकारको नेतृत्व गर्ने भनेर सत्तारूढ गठबन्धनलाई हाँक दिइरहेका छन् ।

तीनवटै तहमा ठूलो दल भए पनि नेतृत्व राजनीतिक व्यवस्थापनमा चुक्दा एमाले अहिले प्रतिपक्षी भूमिकामा धकेलिएको छ । सबै प्रदेश र केन्द्रमा अल्पमतमा रहेका दलहरूको गठबन्धनले सरकारको नेतृत्व गरिरहेको छ । यसबाट पिरोलिएका ओलीले चाँडोभन्दा चाँडो निर्वाचन चाहेको सन्देश दिइरहेका छन् । हुन त ओलीलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनादेश दिएकै हो । नेकपा माओवादी केन्द्र र एमालेबीच एकता हुँदा त ओलीलाई झण्डैझण्डै दुई तिहाई मतको समर्थन थियो तर त्यो पचेन । हठ देखाउँदै संसद भंग गरिदिए ।

अहिले दलहरू पार्टीको महाधिवेशनमा केन्द्रित भएका छन् । चुनावी तयारीमा लाग्न उनीहरूलाई तत्काल फुर्सद जुर्ने देखिएको छैन । एमालेले मंसिर १० देखि १२ गतेसम्म दशौं महाधिवेशन तय गरेको छ । कांग्रेस पनि महाधिवेशनकै तयारीमा छ । पटक पटक मिति सारे कांग्रेसले मंसिरमै महाधिवेशन गर्ने योजना छ । राप्रपा पनि महाधिवेशनमै होमिएको छ । ‘आजीवन’ अध्यक्षको ट्याग भिरेका माओवादी अध्यक्ष दाहालले पनि महाधिवेशन गराउनुपर्ने होला । चितवनमा एमालेको दशौं महाधिवेशनस्थल अवलोकन गर्न गएका ओली चुनावी शैलीका गतिविधि गरेर काठमाडौं फर्किए ।

कात्तिक १५ मा भरतपुर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने र सत्तारूढ गठबन्धनलाई चुनावमा धोबीले लुगा पछारेजस्तै पछार्ने हाँक दिए । चितवनबाट फर्किएपछि भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता गगन थापाको अभिव्यक्तिको जवाफ दिए ।

थापाले भक्तपुरमै आयोजित कांग्रेसको कार्यक्रममा आगामी चुनावमा एमालेलाई बढार्ने र कहीँ कतै कुना काप्चामा बाँकी रहेमा भ्याकुम लगाएर भए पनि सक्ने अभिव्यक्ति दिएका थिए । कात्तिक १८ मा भक्तपुरको एक पुस्तक विमोचन कार्यक्रममा ओलीले भने, ‘हिजो हो कि कहिले, एकजना बाबु घुम्दै यतै भक्तपुरतिर भ्याकुम क्लिनर लिएर आएछन् । अनि, भ्याकुम क्लिनर लगाएर एमाले सिध्याउने रे । बिचरा । सिंगै कांग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना तिनीहरूका ।’

कांग्रेस नेता गगन थापाको भाषण पनि चुनाव केन्द्रित हुन थालेका छन् । महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थापाले महाधिवेशनभन्दा बढी संघीय संसदको चुनावलाई केन्द्रमा राखेर भाषण गरिरहेका छन् । एमालेजस्तै कांग्रेसका पनि धेरैजसो नेताले चुनाव चाहेको देखिन्छ । २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनसँग पराजित भएको कांग्रेसका धेरैजसो नेता संसदीय राजनीतिमा छैनन् । त्यसो हुँदा अहिले अरू राजनीतिक दलको दबदबा खस्किएको र यही बेला चुनाव भए अत्यधिक सिट जित्न सकिने कांग्रेस नेताहरूको आकलन छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल संसद पूर्ण कार्यकाल चल्ने र सत्तारूढ गठबन्धन चुनावसम्मै जाने बताउँछन् । संसद् पूर्ण कार्यकाल चल्दा चुनाव हुने भनेको २०७८ को मंसिरपछि मात्रै हो । तर, उनका पछिल्ला अभिव्यक्ति भने चुनावबाट डराएजस्तो देखिने गरेको छ । भलै, दाहालले आफ्ना भाषणमा संसद्को प्रतिपक्षी दल एमालेको आलोचना गर्न छाड्दैनन् ।

चुनावकेन्द्रित भाषणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि उत्तिकै अगाडि छन् । नेपालकोे प्रहारको केन्द्र पनि एमाले नै हुने गरेको छ । माधव नेपालले एमालेलाई नै फुटाएर एकीकृत समाजवादी गठन गरेका हुन् । एमालेको नेतृत्व प्रतिगामी बाटोमा हिँडेको र गठबन्धनले संविधान र व्यवस्था जोगाएकाले आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने नेपालले बताउने गरेका छन् ।

ओलीले संविधानविपरीत संसद् विघटन गरेको भनेर गठबन्धन गरेका दलहरूलाई संविधानको पालना गर्न पनि आवधिक निर्वाचनलाई टार्ने त हैन सार्ने सुविधा पनि छैन । यसर्थ तोकिएकै समयमा निर्वाचन होला भन्ने आश गर्न सकिन्छ । यसो त राजनीतिको भर हुन्न पनि भनिन्छ, के हुन्छ हेरौं । ओली, नेपाल, दाहाल, देउवाले नेतृत्व गरेको दलले आगामी निर्वाचनबाट कस्तो आकार लिन्छ हेर्नै बाँकी छ ।

२०६४ सालको माओवादी, २०७० सालको कांग्रेस अनि २०७४ सालको नेकपाको आकार के भयो ? अब के हुने हो त्यो मतदाताको हातमा छ । राजनीति हो, सरल रेखामा हि“ड्दैन । तसर्थ दलहरूले मिल्दा ‘चाटाचाट’ र नमिल्दा ‘काटाकाट’ नगरेकै राम्रो ।

टिप्पणीहरू