एकीकृत समाजवादीका विभिन्न निर्णय, नवप्रवेशीलाई समेत जिम्मेवारी

एकीकृत समाजवादीका विभिन्न निर्णय, नवप्रवेशीलाई समेत जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी)ले कम्युनिष्ट पार्टीहरुको एकता र वाम–लोकतान्त्रिक गठवन्धनका पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

नेकपा एसको दुई दिनदेखि चलेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले वाम–लोकतान्त्रिक गठवन्धनलाई निर्वाचनसम्म लैजान वैठकले आव्हान गरेको जानकारी दिनुभएको छ । वैठकले कम्युनिष्ट आन्दोलनको पूनर्गठन र एकिकरणको प्रयासमा अझ सशक्त रुपले अघि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ ।

’दक्षिणपन्थी तथा पुनरुत्थानवादी सम्भावित गठबन्धनप्रति सचेत रहँदै लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वाम–लोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउन यो बैठक समस्त वाम–लोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलाई हार्दिक आह्वान गर्दछ’, निर्णयमा भनिएको छ ।

सत्तारुढ गठवन्धनले हालै गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिलाई एकीकृत समाजवादीले दक्षिणपन्थी शक्तिविरुद्धको मोर्चा भनेको छ । समितिको आवश्यकतामाथि प्रकाश पर्दै निर्णयमा भनिएको छ, ’वाम–लोकतान्त्रिक गठबन्धनलाई अझ प्रभावकारी ढंगले संचालन गर्नका लागि हालै गठन भएको ‘उच्च स्तरिय राजनीतिक समन्वय समिति’लाई यो बैठक हार्दिक स्वागत गर्दछ । सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने र आगामी निर्वाचनसम्म नै गठबन्धनको काम व्यवस्थापनलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यो प्रयत्न सराहनीय छ ।’

एकीकृत समाजवादीले न्यायालयमा देखिएको पछिल्लो विवादले शक्ति पृथकीकरणको सिद्धान्त खल्बलिने भन्दै चिन्ता जनाएको छ । न्यायसम्पादन ठप्प हुने गरि सर्वोच्च अदालतमा देखिएको विवादले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा पनि संकट पैदा गरेको वैठकको ठहर छ । एकीकृत समाजवादीले विवाद समाधनका लागि सबै राजनीतिक दल, न्याय क्षेत्रका सरोकारवाला पक्षबीच एकीकृत अवधारणा बनाउन अपिलसमेत गरेको छ ।

वैठकले विभिन्न पार्टी परित्याग गरि एकीकृत समाजवादीमा आएका केन्द्रीयस्तरका नेतालाई स्थायी कमिटी र केन्द्रीय कमिटीमा मनोनित पनि गरेको छ । एमाले छाडेर एकीकृत समाजवादीमा आएका वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनित गरेको छ । त्यस्तै, माओवादी छोडेर आएका रामचन्द्र झालाई केन्द्रीय सचिवालय तथा माले छोडेर आएका कुलप्रसाद फुँयाल, शंकर पोखरेल र निलमणि बराललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

वैठकले डडेल्धुराबाट एमाले छाडेर एकीकृत समाजवादीमा आएका डा.तारा जोशीलाई केन्द्रीय कमिटीमा लागेको छ । त्यस्तै, माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषद्मा र कारिप्रसाद यादवलाई २ नं. प्रदेश कमिटीमा मनोनित गर्ने बैठकको निर्णय छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/bigyapti-2nd-cc-meeting.pdf” title=”bigyapti 2nd cc meeting”]

टिप्पणीहरू