झगडियालाई त्राण दिने मेलमिलाप परिषद् खोई ?

झगडियालाई त्राण दिने मेलमिलाप परिषद् खोई ?

–कौशल चेम्जोङ

अहिले सर्वोच्च अदालतमा ‘पस्ने र छेक्ने’ बीच घम्साघम्सी शुरु भएको छ । लाग्छ, अदालत कालोकोटधारीहरुको रणभूमि हो । त्यसैले त बहस र पैरवीमा रमाउनेहरु ‘टोलेगुण्डा’ जस्तै एकार्काप्रति आक्रामक देखिएका छन् । यसै मेसोमा सोसल मिडियामा बरालिने ‘बराल’ हरु पनि थपिएका छन् । त्यसैले गर्दा अवस्था झनै खराब बन्दै गइरहेको छ ।

बाहिर भनिएका वा सुनिएका वा पढिएका कुराहरुको भर गर्ने हो भने सर्वोच्च अदालतप्रतिको विश्वास ओरालोलाग्दो छ । सर्वोच्च अदालतमा बिचौलियाहरु सक्रिय छन् र उनीहरुले न्यायलाई सुक्रिबिक्री गरिरहेका छन् । यस्तो आरोप अरुले लगाएको भए पत्याउने कुरा हुँदैन्थ्यो । तर न्याय दिने र न्यायको लागि पैरवी गर्नेहरुले नै यस्तो भनेपछि पत्याउँदिन भन्न पनि नसकिने अवस्था छ । न्यायाधीश र वकिलहरु नै एकार्काप्रति सशंकित छन् । एकले अर्कालाई निषेध गर्ने रणनीतिमा ओर्लिएका छन् । यस्तो बेला न्यायको आसमा बसेका हजारौं वादीप्रतिवादीहरु खिन्न भएका छन् ।

न्यायाधीशहरुले अदालतमा फिराद लिएर जाने र प्रतिउत्तर खेप्नेहरुलाई पहिलो पटक मेलमिलाप केन्द्रमा पठाएर झगडा सल्टाउने प्रयास गरेको पाइन्छ । र, मेलमिलापकर्ताको रुपमा सैयौं कानून व्यवसायी अनि लव्धप्रतिष्ठित व्यक्तिहरु वा पक्षविपक्षको चाहनाबमोजिमका मेलमिलापकर्ता नियुक्त हुने गरेका छन् । राम्रा मेलमिलापकर्ताले मुद्दामामिलाको कारण दुबैपक्षको मानप्रतिष्ठा र इज्जतमा धक्का लाग्ने, मानसिकरुपमा तनाव हुने र धनको क्षय हुने अनेकौं खराबीहरुको वर्णन गर्छन् ।

उनीहरु पक्ष र विपक्षलाई जुँगाको लडाईं वा आफू सकिएर अरुको सेखी नझार्न सुझाउँछन् । त्यतिबेला कतिपय पक्ष वा विपक्षले ठण्डा दिमागले सोच्छन् र मेलमिलापमा अग्रसर हुन्छन् । र, सबैभन्दा राम्रो मेलमिलाप हो र मेलमिलापभन्दा फैसला जहिले पनि अप्रिय हुन्छ भन्ने साबित गर्दछन् । तर अहिलेको स्थिति फरक छ, बार र सर्वोच्च अदालतमा दुई दुई फ्याक देखिन्छ । श्रीमानहरु पनि दुई फ्याक, वकिलहरु पनि दुई फ्याक । जसले गर्दा न्याय माग्नेहरु यो घानमा पिसिएका छन् । वर्षौंवर्षका मुद्दाहरु अब किनारा लाग्छ, तब किनारा लाग्छ भन्नेहरु निराश बन्दै गइरहेका छन् । तर न्याय दिने र दिलाउने हर्ताकर्ताहरु ‘टस न मस’ भएर एकअर्काप्रति झनै आक्रामक बन्दै गइरहेका छन् । यो आक्रमकताले अब जिल्ला र उच्चअदालत अनि बारहरुलाई पनि लपेट्न थालेको छ ।

शक्तिपृथकीकरणको सिद्धान्तमाथि धावा बोलेर जब नेताहरुले न्यायलयमा ‘दलीय पहुँच’ लाई संस्थागत गरे, तत्पश्चात् न्याय सुक्रिबिक्रीका लागि बिचौलियाहरु सबल बने । र, न्यायालय ‘रणभूमिमा’ परिणत हुन पुग्यो । तर यो झगडाभित्रको असली मकसद् बुझ्नै गाह्रो छ । र, झगडियाहरुलाई मेलमिलाप गराउने न्यायाधीश र वकिलहरु अब कोही बाँकी छैनन् जस्तो छ ।

सबै न्यायाधीश र वकिल एक अर्कामै पक्ष विपक्ष भएर मैदानमा ओर्लिएको देखिन्छ । सर्वोच्च अदालत र सर्वोच्च बारभित्र पनि दुई दुई खेमा देखिएका छन् । अदालत र वकिल दुवैको साख गिराउने काममा जसले बचाउनु पर्ने हो उही क्रियाशील छ । यस्तो बेला मेलमिलाप परिषद् कहाँ छ ? दुवै प्रतिष्ठित तर यतिखेर नाङ्गेझार बन्दै गईरहेका न्यायाधीश र वकिलहरुलाई ‘सर्वाङ्ग नग्न’ हुनबाट जोगाउनेहरु किन अघि सर्दैनन् ? कि मेलमिलाप गराउनेहरु पनि आफैं पाखुरा सुर्केर रणभूमिमा रमाएका छन् ?

कसैले न कसैले यो झगडाको निरुपण गर्न अगुवाई गर्नु पर्ने हो । यदी नगर्ने हो भने न्यायालयको साखलाई निकै गम्भीर क्षति पुग्ने निश्चित छ । जनता न्यायको लागि अदालत होइन, विद्रोही (आँतककारी?) वा डन वा गुण्डाहरुको शरणमा पर्ने छन् । हतियारको बलमा शासन गर्न रुचाउनेहरुको न्यायलाई मन पराउन थाल्ने छन् । तसर्थ सर्वोच्च अदालत र बारको प्रतिष्ठाको विषय बन्दै गइरहेको यो झगडा सल्टाउन मेलमिलाप परिषद् अग्रसर नभए पनि मेलमिलापकर्ताहरु अघि सर्नुपर्छ ।

नभए रात रहँदै गर्दा अग्राख पलाउँदै जान्छ । मेलमिलापकर्ताहरुले दुबैपक्षले महशुस गर्ने ‘जित–जितको अवस्था’ को बारेमा छलफल शुरु गर्नुपर्छ । अरुको झगडा सल्टाउन ‘अदालत र बार’ ले अदालतपरिसरभित्रै खोलेको मेलमिलाप परिषद् (केन्द्र) न्यायाधीश र वकिलहरु जस्ता विद्वानहरुको लागि चाँहि होइन कि भन्ने आशंका उब्जिएको छ । तसर्थ तमासा देखाउने काममा ‘न्यायाधीश र वकिल’ अग्रसर हुन भन्दा ‘जित–जितको अवस्था’ का लागि तयार हुनुपर्छ । यसैमा न्याय नमर्ने अनि हिसाब र निसाफ दुबै साफसाफ हुन्छ ।

टिप्पणीहरू