सरकार र व्यापारी

सरकारले भनेको कुरा नटेर्ने त हाम्रो रोगै छ । सरकारले कुनै निर्देशन दिन्छ तर त्यो कसैले पालना गर्दैन । सरकारले कुनै निर्णय गर्छ तर त्यो कहीं पनि कार्यान्वयन हुँदैन । आखिर गरेको मान्ने र भनेको टेर्ने त कोही पनि नहुँदा रहेछन् । देश बिग्रेको त्यही कारणले हो ।

तर, त्यसो हुँदाहुँदै पनि सरकारले भन्नेबित्तिकै मानिहाल्ने एउटा ठूलो समूह पनि यो देशमा छ । त्यो हो व्यापारीको समूह ।
जस्तो कि अस्ति आएको बजेट हेर्नोस् । सरकारले बजेटमार्फत केही सामानको भाउ बढाउने निर्णय ग¥यो । निर्णय हुनेबित्तिकै व्यापारीले मानिहाले । भाउ बढाइहाले । सरकारी निर्णयको यो जत्ति शीघ्र पालना अरू कहाँ भयो होला र ?

अझ केही सामान त यस्ता पनि छन् जसको भाउ बढेकै छैन । बढ्ने संकेत मात्रै मिलेको छ । त्यसको भाउसमेत व्यापारीज्यूहरूले बढाइहाल्नुभयो । यसले गर्दा पछि सरकारलाई भाउ बढाइरहनु परेन । पहिल्यै बढिसकेको सामानको भाउ पछि किन बढाउने ?

वास्तवमा व्यापारीसँग सरकार र नेताहरूको घनिष्ठ सम्बन्ध बन्ने कारण त यो पो रहेछ । सरकारले गरेका निर्णयलाई यति छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्ने वर्गसँग सम्बन्ध राम्रो नभए अरू कोसँग राम्रो हुन्छ त हँ ?

टिप्पणीहरू