सेनापतिले पर सारे, सेनापतिले नै वर पारे

सेनापतिले पर सारे, सेनापतिले नै वर पारे

गएका प्रधानसेनापतिले गरेका निर्णय आएका प्रधानसेनापतिले भटाभट उल्ट्याउन थालिएको छ । पूर्णचन्द्र थापाले नमिल्ने भनी थन्क्याएका जर्नेल बाबुराम श्रेष्ठ फुली थपेर पोखरास्थित मध्यकमाण्ड सम्हाल्न पुगिसकेका छन् । उता २५ बेसिकका जर्नेल ईश्वरकान्त मैनाली भने मानार्थका रुपमा फुली थपेर घर फर्किएका छन् ।

प्रधानसेनापतिले हैन, पिएसओजले सिफारिस गर्नुपर्नेमा पूर्णचन्द्र एक्लैले अन्तिम ६ महिना तजबिजी निर्णय गर्दै गए । २८ बेसिकका पदमबहादुर सिंह र सागर केसीलाई मानार्थ उपरथीमा बढुवा गर्ने निर्णय गरे ।

तर, अरुका हकमा मानार्थ दिनै नमिल्ने निर्णय रक्षा मन्त्रालयमार्फत गराएर ईश्वकान्तको रुवाबासी चलाए । कोर्टमार्सलमा परेका अफिसरलाई बढुवा नदिने नियम पूर्णचन्द्रले बनाएपछि पीडित भएका बाबुरामलाई नयाँ प्रधानसेनापतिले सर्लक्कै फुली लगाइदिएर जिम्मेवारीमा पठाइदिएका छन् ।

पछिसम्मको पदीय भूमिका हेरेर माथिबाट फाल्दै तलका अफिसरलाई अवसर दिलाउने टोली सेनाभित्र सल्बलाउँदा यस्तो करौँती चलेको बताइन्छ । महासेनानी भएपछि प्रथम श्रेणीको अफिसर भएर घर जान पाउनुपर्ने मान्यता राखिन्छ ।

तर, पूर्णचन्द्रको पालामा होनहार अफिसरहरू पनि प्रमुख सेनानीबाटै घर गए । त्यसरी जानेमध्ये इन्ट स्कुलका प्रकाश अर्यालसहित छन् । सशस्त्र द्वन्द्वकालीन घटनासँग सम्बन्धित अभियोग लागेर बेलायतमा तीन वर्ष नजरबन्द गरिएका कुमार लामाले पनि घर जाने बेला मानार्थ पाएनन् ।

अर्कातिर, भर्खरै एक तारे जर्नेल (सहायक रथी) को बढुवा सिफारिस निस्किएको छ । त्यसमा २६ बेसिकका मनोज सिलवाल पनि परेका छन् । स्टाफ कलेज नगरेका पाँच जना महासेनानी थिए । तीमध्ये चार जना खालि हुँदा पनि पूर्णचन्द्रले बढुवा नखोल्दा स्टाफ कलेज गरेकै अफिसरहरूले तल्लो दर्जाबाटै अवकाशमा जानुपरेको थियो ।

त्यसरी घर पठाइएका कर्णेलहरू श्याम खड्का, डिजन पिया, धर्म कँडेल, निर्मल ढुंगानाहरू हुन् । सेनामा स्टाफ कलेज नगरे पनि सात प्रतिशतलाई जर्नेल बनाउने चलन छ । पहिला पनि प्रकाशजंग कार्की र शेर सिंह यस्तै अन्यायमा परेर घर गए । आफूलाई मन नपरेका मान्छे फ्याँक्दै, उनीहरू घर गएपछि बढुवा खोल्ने काम रोक्ने सिलसिलाअन्तर्गत भर्खरै सहायक रथीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

त्यस्तो सिफारिसमा पर्नेहरू प्रकाशराज थापा, कृष्ण भण्डारी, भुवन खत्री, विष्णु खड्का, मनोज सिलवाल, भोला थापा र ज्योतेन्द्र महत हुन् ।

टिप्पणीहरू