‘भारतले जान दिए जनगणना गर्छौं’

‘भारतले जान दिए जनगणना गर्छौं’

प्रत्येक १० वर्षको अन्तरालमा गरिने जनगणना भोलिबाट शुरु हुँदैछ । १२ औं राष्ट्रिय जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले तयारी पूरा गरेको बताएको छ ।

विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा पहिलो चरणको सूचीकरण कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ । आजदेखि पहिलो चरणमा छुटेका घर परिवारलाई समेत समावेश गरेर जनगणनाको मूलगणना शुरु हुनेछ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणनाका लागि ४० हजार हारहारीमा गणक र आठ हजार पाँच सय सुरपरीक्षेक समेत खटिने बताउनुभएको छ ।

जनगणनाका लागि सातै प्रदेश र जिल्लास्तरका ८७ स्थानमा जनगणना कार्यालय स्थापना भएको छ । स्थानीय तहमा समेत तीन सय ४९ वटा कार्यालय स्थापना भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले नेपालको नक्सामा समेटिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवतजावत गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने बताउनुभयो ।

‘आवतजावत गर्न नदिए अन्य स्रोतहरुको प्रयोग गरेर भए पनि जनगणना गरिने छ,’ उहाँले भन्नुभयो ।

टिप्पणीहरू