एमालेले भित्रैबाट ७ करोड उठाउने

एमालेले भित्रैबाट ७ करोड उठाउने

नेकपा एमालेले महाधिवेशन खर्च कार्यकर्ताबाट उठाउने भएको छ । आज बसेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा एक सयका दरले रकम उठाएर खर्च गर्ने निर्णय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले उक्त रकम पार्टी सदस्यहरुले अनलाइनमार्फत खातामा जम्मा गर्नुपर्ने जानकारी दिनुभयो । हाल पार्टीमा ७ लाख ३० हजार संगठित सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोड भन्दा बढी जम्मा हुने उहाँले बताउनुभयो ।

बैठकले महाधिवेशन उपसमितिहरूले पेश गरेका प्रतिवेदन पारितसमेत गरेको छ । एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्दैछ । उद्घाटन मङ्सिर १० गते मध्यान्ह १२ बजे चितवनको नारायणी नदी किनारमा अध्यक्ष केपी ओलीले गर्ने र बन्द सत्र सौराहामा हुने एमालेले यसअघि नै निर्णय गरिसकेको छ ।

उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट ५ लाख जनपरिचालन गर्ने योजना रहेको भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा ६२ मुलुकका राजनीतिक पार्टीलाई अतिथिका रुपमा बोलाउने एमालेले जनाएको छ । उनीहरुलाई निमन्त्रणा पठाइसकेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

विद्युतीय प्रणालीमार्फत मतदानको व्यवस्था मिलाएको एमालेले १० गते उद्घाटन सकेपछि ११ गते निर्वाचन प्रक्रिया आरम्भ गर्ने र १२ गते नै परिणाम घोषणा गर्ने तयारी छ ।

टिप्पणीहरू