मध्यराती मेजरको टाउको झर्याम झुरुम

मध्यराती मेजरको टाउको झर्याम झुरुम

मध्यरात रक्सीले मातेर स्थानीयलाई बन्दुक ताक्ने नेपाली सेनाका एक मेजरले रामधुलाई मात्रै हैन कोर्ट अफ इन्क्वायरीको सजायँसमेत भेटेका छन् । रक्सीको नशामा स्थानीयमाथि दादागिरी देखाउँदा सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत सेनानी (मेजर) अशोकजंग शाहीले कुटाइ खाएका हुन् ।

भाइटीकाको दिन राति ११ बजे रक्सीले मातिएका शाही कैलालीको चिसापानीस्थित होटल संगममा छिरेका थिए । प्रहरीका अनुसार होटल बन्द भैसकेकाले उनी पछाडिको ढोकाबाट छिरेका थिए ।

मध्यराति रक्सीले मातेको अवस्थामा शाही होटलमा छिरेपछि होटल सन्चालक हर्कबहादुर रावलले उनलाई बाहिर निस्कन आग्रह गरे । राति अबेर भइसकेकाले सञ्चालक रावलले समयबारे अवगत गराए । तर,शाही मानेनन् । त्यसपछि दुवै जनाबीच भनाभन शुरु भयो । भनाभन बढ्दै जाँदा हल्ला खल्ला हुन थाल्यो ।

होटलमा हल्ला सुनेपछि वरपरका स्थानीय जम्मा भए । बाहिर स्थानीय भेला भएको चाल पाएपछि मेजर शाही आफ्नै गाडी चढेर शिक्षालय फर्किए । शिक्षालय पुगेर गेटमा ड्युटी खटिएका हुद्दा तीर्थबहादुर बडुवाललाई एसएलआरसहित गाडीमा राखेर चिसापानी फर्किए । शाहीको गाडी चिसापानी चोक पुग्दा स्थानीयहरु त्यहिँ थिए । शाहीको व्यवहारले अघि नै आक्रोशित भएका स्थानीयले गाडी देख्नेबित्तिक्कै आक्रमण गर्न थालिहाले ।

आफ्नो गाडी तोडफोड हुन थालेपछि मेजर शाही हुद्दाको हातबाट हतियार खोसेर गाडीबाट निस्किए र सीधै स्थानीयलाई ताके । रक्सीले अडिन नसकेका शाहीलाई स्थानीयले समातेर भकुर्न थाले । चोकमा कुटाकुट भएपछि इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोली आइपुग्यो । प्रहरीले हुलबाट छुटाएर मेजर शाहीलाई जोगाउन खोजेपछि थप आक्रोशित भएका स्थानीयले प्रहरी टोलीमाथि पनि ढुंगामुढा गरे ।

प्रहरीले शाहीलाई इलाका प्रहरी कार्यालयतर्फ लिएर गएपछि स्थानीय पनि पछिपछि लागे । शाहीलाई कारवाही गर्नुपर्ने माग राख्दै उनीहरुले प्रहरी कार्यालयमा ढुंगामुढा गरे । ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय तोडफोड हुनुका साथै कार्यालय परिसरमा राखिएका सवारी साधनमाथि क्षति पुगेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालयका दुई वटा ढोका र ८ वटा झ्यालका सिसा फुटेका छन् ।

त्यस्तै,ना १ झ ८३० नम्बरको सवारी साधनको अगाडिको सिसा फुटेको,प्रहरी कार्यालयमा पार्किङ गरिराखेको मोहन्याल गाउँपालिका कार्यालयको से १ झ २५२ नम्बरको गाडीको बाँया साइडको ढोका माथिको प्लास्टिकको भाग फुटेको र मेजर शाहीको बागमती प्रदेश ०१-००२६ च ३४६१ नम्बरको निजी गाडीको सबै सिसा फुटी बम्पर कुच्चिएको प्रहरीले जनाएको छ ।

मेजर शाहीलाई स्थानीयबाट छुटाउने क्रममा झडप हुँदा प्रहरी नायव निरीक्षक चन्द्रराज गिरी,हवल्दार दिपक कठायतको हातमा सामान्य चोट लागेको छ । प्रहरीका अनुसार स्वास्थ्य परीक्षणपछि हुद्दा बडुवाललाई हतियारसहित शिक्षालय गोरुङ्गे पठाइएको छ भने मेजर शाही इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणबाट फुत्किएका छन् ।

टिप्पणीहरू