ऐतिहासिक गौरव यौटा पार्टीको मात्रै हुन्छ ?

ऐतिहासिक गौरव यौटा पार्टीको मात्रै हुन्छ ?

 नेपाली कांग्रेसले ऐतिहासिक सिन्धुलीगढी विजय उत्सव कार्यक्रमलाई एमालेकरण गरिएको आरोप लगाएको छ ।

कांग्रेस कमलामाई नगरपालिकाले आज एक विज्ञप्ति सार्वजनिक गर्दै जिल्लावासीको गौरव र आत्मसम्मानको रुपमा रहेको विजय उत्सव कार्यक्रमलाई पार्टीकरण गरिएको भन्दै आपत्ति जनाएको हो । कमलामाई नगरपालिकाले दूषित मनसायका साथ विजय उत्सव कार्यक्रमलाई दलीयकरण गरेको कांग्रेसको भनाइ छ ।सिन्धुलीगढीमा हरेक वर्ष कात्तिक २४ गते विभिन्न कार्यक्रम गरी विजय उत्सव मनाउने गरिएको छ । तत्कालीन गोर्खाली सेनाले इष्ट-इण्डिया कम्पनीको अंग्रेज फौजलाई परास्त गरेको दिनको सम्झनास्वरूप विजय उत्सव मनाउने गरिएको हो । त्यतिबेला गोर्खाली फौजले अंग्रेज सेनालाई पराजित गरेर नेपाललाई अंग्रेज उपनिवेश हुनबाट बचाएको इतिहास बोकेको ऐतिहासिक सिन्धुलीगढी राष्ट्रिय महत्वको सम्पदा पनि हो ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले २०६७ सालदेखि विजय उत्सव मनाउन शुरु गरेकोमा पछिल्ला वर्षहरुमा कमलामाई नगरपालिकाले कार्यक्रम आयोजना गर्ने गरेको छ । तर, राष्ट्रकै आत्मसम्मान र गौरवका रुपमा रहेको विजय उत्सव कार्यक्रमलाई कमलामाई नगरपालिकाले एमालेकरण गरेको भन्दै पछिल्ला वर्षहरुमा गुनासा आइरहेका छन् ।

यसवर्ष त नेपाली कांग्रेसले विज्ञप्ति नै सार्वजनिक गरेर आपत्ति जनाएको हो । विज्ञप्तिमा नगरपालिकाले यस्तो निन्दनीय कार्य यथाशीघ्र नसच्याए भोलि आयोजना हुने कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिइएको छ ।

टिप्पणीहरू