चिनियाँ कम्युनिष्ट पार्टीको बैठक चालु

चिनियाँ कम्युनिष्ट पार्टीको बैठक चालु

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी),१९ औं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक राजधानी बेइजिङमा शुरु भएको छ । चार दिनसम्म चल्ने बैठकमा महासचिव तथा राष्ट्रपति सि चिनफिङले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै हुनुहुन्छ ।

प्रतिवेदनमा केन्द्रीय समितिअन्तर्गतको पोलिटिकल ब्युरोले यसबीच गरेका कार्य र चिनियाँ कम्युनिष्ट पार्टीले पछिल्लो एक शताब्दीमा हासिल गरेका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभवलाई समेटिने विश्वास गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा जनगणतन्त्र चीन सबै मोर्चामा आधुनिकीकरणको अग्रगामी दिशातर्फ अगाडि बढिरहेको र चिनियाँ समाजवादले विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको सफलतालाई थप उचाई दिइरहेको निश्कर्ष निकालेको ठानिएको छ ।

आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ,आर्थिक सुधारवादी नेता तङ सियाओपिङ,चियाङ चमिन र हु चिन्ताओका कारण चीन,चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीले गर्विलो स्थान प्राप्त गरेको निश्कर्ष निकाल्ने बुझिएको छ ।

चिनियाँ विशेषतायुक्त समाजवादले विश्वमा आफ्नो मजबुत र छुट्टै जीवन्त शक्ति प्रदर्शन गरेको चिनियाँ जनताको बुझाइ छ । चिनियाँ कम्युनिष्ट पार्टी,सेना र जनता पहिलेझैँ एक ढिक्का बनेको छ । चीनले पछिल्ला वर्षमा आफ्नो अन्तर्राष्ट्रिय छवि र स्थानलाई थप सुदृढ बनाएको छ । यी सबै कारकले चीन अझ बढी मजबुत बनेको छ भने पार्टीले राष्ट्रिय कायाकल्पको विशेष जिम्मेवारी पूरा गरेको यसअघिका पार्टी निर्णयहरुमा समेत उल्लेख छ ।

आजदेखि शुरु भएको बैठकमा झण्डै नौ करोड पार्टी सदस्यमध्येबाट छानिएका जम्मा २ सय ४ जना केन्द्रीय सदस्य र १ सय ७२ जना वैकल्पिक गरी ३ सय ७६ जना सहभागी छन् ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू