लक्षण बिनाको कोरोनाले तिहारमा चेलीको निधन, गर्भको शिशु भेण्टिलेटरमा

लक्षण बिनाको कोरोनाले तिहारमा चेलीको निधन, गर्भको शिशु भेण्टिलेटरमा

तिहार नलाग्दै राजधानीमा एक गर्भवती युवतीको निधन भएको छ । कोरोनाको लक्षण नदेखिए पनि उनको ज्यान जानुको कारण कोरोना भएको बताइन्छ । आमाको निधन हुनु अगावै आठ महिना लागेको गर्भको शिशुलाई सुरक्षितसँग निकालिएको छ । शिशुलाई कोरोना देखिएको छैन, तर अवस्था जटिल भएकाले भेण्टिलेटरमा राखिएको बताइएको छ ।

३० वर्षकी छोरीको अवस्था खराब हुँदै गएपछि केही दिनअघि मृतक युवतीको आमाको हृदय पनि एकाएक बन्द भएको छ । निधन भएकी युवतीका श्रीमान सरकारी सेवाको सिलसिलामा सात समुन्द्रपारी जाने तयारी छन् ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा कार्यरत कृति थापामगरको तिहारको मुखैमा कोरोना संक्रमणको कारण निधन भएको छ । यसअघि नै दुई डोज खोप लगाइसकेकी थापालाई कोरोना परीक्षणसम्म पनि कुनै लक्षण नदेखिएको पारिवारिक र कार्यालय स्रोतले बताएको छ । दुई जीउकी उनी दशैंमा टीका लगाउन उपत्यका बाहिर अर्थात् माइत जाँदा संक्रमित भएको आशंका गरिएको छ । तर, दशैंपछि कोरोनाको कुनै पनि लक्षण भने नदेखिएको सबैले बताएका छन् ।

बैंकका उनका समकालीनहरु भन्छन्, ‘दशैंपछि थापाको हात गोडा सुन्निएको थियो । पहिले थापाथलीस्थित नर्भिक अस्पतालमा जचाउँदा उनलाई गर्भावस्थाको कारणले शरीरका भाग सुन्निएको भनियो । तर, क्रमशः अवस्था खराब हुँदै गएपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरियो ।’

शिक्षण अस्पतालमा भर्ना गरेपछि अवस्था जटिल हुँदै गयो । छोरीको अवस्था जटिल हुँदै गएको कारण आमाको अप्रत्याशित निधन भएको हो । उता परराष्ट्र मन्त्रालयमा कार्यरत मगरका श्रीमान् भने यतिखेर सात समुद्रपारीको ब्राजिलस्थित नेपाली दूतावासमा जाने तरखरमा छन् । श्रीमानको ब्राजिलमा पोष्टिङ भएको छ । गर्भको शिशुलाई जन्माइएको दुई दिनपछि कृतिले यो संसार छाडेकी छन् । शिशुलाई कोरोना संक्रमण पुष्टि भएको छैन तर अवस्था अझै जटिल रहेको बताइन्छ ।

उनी कार्यरत बैंकको बैंकिङ विभागका एक जना कर्मचारीले भने, ‘कोरोनाको कारण निधन भएको भनिएको छ । तर, उनमा कोरोनाको कुनै पनि लक्षण देखिएन । दशैंपछि उनमा देखिएको समस्या भनेको हात गोडा सुन्निएको मात्र हो । पेटको गर्भ सात पुगेर आठ महिना मात्र लागेको थियो ।’

कृति र उनका श्रीमानको तिहारलगत्तै ब्राजिलमा जाने र नौ महिना पुगेपछि शिशु जन्माउने योजना थियो । त्यसको लागि थापाले आफू कार्यरत विभागमार्फत् बिदाको निम्ति सम्पूर्ण प्रक्रियासमेत पूरा गरेको बताइन्छ । तर, ब्राजिल उड्नु केही साताअघि नै उनले काठमाडौंमा बिना लक्षणको कोरोना संक्रमणबाट देह त्याग गरेकी छन् ।

टिप्पणीहरू