महाधिवेशन आफ्नो हातमा नभएको देउवाको दावी

महाधिवेशन आफ्नो हातमा नभएको देउवाको दावी

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन समयमै हुने दाबी गर्नुभएको हो । उहाँले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले समयमै गराउने विश्वास गर्नुभयो ।

‘जसले जे भनेपनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन,अधिवेशनको तयारीमा लाग्नुहोला’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै उहाँले जित र हारले पार्टीभित्र दुश्मनी बढाउनु नहुनेमा जोड दिनुभयो ।

‘अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिष्पर्धाबाट बनाउनुस्’, देउवाले भन्नुभयो, ‘त्यसमा जित-हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ, र जित-हारमा दुश्मनी नबढोस्, पार्टीभित्रको मामिला हुनाले जित हारमा दुश्मनी नबढोस्, त्यस्तो अधिवेशन हुनुपर्छ ।’

टिप्पणीहरू