लक्ष्मीपूजामा आगलागी हुँदा शोरुम ध्वस्त,४३ वटा मोटरसाइकल खरानी

लक्ष्मीपूजामा आगलागी हुँदा शोरुम ध्वस्त,४३ वटा मोटरसाइकल खरानी

उदयपुरको सदरमुकाम गाईघाटस्थित मोटरसाइकल शो रुममा आगलागी हुँदा ४३ वटा मोटरसाइकल ध्वस्त भएका छन् । हिजो राति लक्ष्मीपूजा गरिसकेपछि शो रुममा आगलागी भएको हो ।

त्रियुगा नगरपालिका १२ स्थित ओम रौता रानी हाउस एण्ड सप्लायर्सको शोरुम जलेर ध्वस्त भएको छ । ४३ वटा विभिन्न कम्पनीका मोटरसाइकलहरु पूर्णरुपमा खरानी हुँदा करोडभन्दा बढीको क्षति भएको बताइन्छ । लक्ष्मीपूजा गर्ने क्रममा बालिएको बिजुली बत्तीमा विद्युत सर्ट भएपछि मध्यरातमा आगलागी भएको अनुमान गरिएको छ ।

लक्ष्मीपूजा गरेपछि शोरुम बन्द गरेर सञ्चालकद्वय टेकबहादुर दाहाल र राजकुमार राउत घरतर्फ गएका थिए । तर मध्यरात एकाएक आगलागी हुनुको कारण विद्युत सर्टको सम्भावना रहेको बताइएको छ । नजिकैका छिमेकीले राति प्लाष्टिक डढेको गन्ध आएपछि खोजखबर गरेका थिए ।

बाहिरबाट ताला लागेको शोरुमको भित्र आगोको ज्वाला देखेपछि प्रहरीले शोरुमको ताला फुटाएर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । त्रियुगा नगरपालिकाको दमकल,जनपथ र सशस्त्र प्रहरीलगायत स्थानीयको सहभागितामा तीनघण्टा लगाएर आगलागी नियन्त्रणमा लिइएको छ ।

शोरुममा रहेका सबैजसो मेसिन तथा औजार, मोटरसाइकलका पार्टपूर्जा, तीन वटा ल्यापटप, सिसि क्यामरालगायतका सम्पूर्ण सामाग्री नष्ट भएका छन् । सञ्चालकले शोरुमभित्र बालिएको झिलिमिलिे रंगीन बिजुलीको बत्तीबाहेक अरु सबै निभाएको बताएका छन् । सम्भवतः सोही बत्तीको तार सर्ट भई आगलागी भएको अनुमान सञ्चालक राउतले समेत गरेका छन् ।

प्रारम्भिक अनुमानअनुसार आगलागीबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । शोरुम रहेको घरको अन्य भाग भने जल्न पाएको छैन ।

टिप्पणीहरू