जसको नेपाल छाडेपछि भयो जय

नेपालमा विभिन्न देशका दूतावासहरु छन् । युरोपियन युनियन, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायत धेरैखाले कूटनीतिक नियोग पनि छन् । तर, काठमाडौं सबैभन्दा बढी फाप्नेचाहिँ भारतीय कूटनीतिज्ञलाई नै रहेछ । चीन, अमेरिका र युरोपियन मुलुकका कर्मचारी पनि यहाँ आएर फर्किए तर त्यसपछि लोभलाग्दो उच्च पद सम्हाल्ने मौका भने तीमध्ये कसैले पाएको देखिएन, भारतीयको हकमा चाहिँ कुरा बेग्लै छ । यताबाट फर्किएका कतिपय राजदूत विदेश सचिव बनेका छन् । कोहीले प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी निर्वाह गर्ने मौका पाएका छन् । त्यति मात्र होइन, नेपालमा स्टेशन म्यानेजर बनेर बसेका खुफिया एजेन्सी ‘रअ’ का मान्छेहरु तीनजना त यहाँबाट फर्किएलगत्तै त्यसको प्रमुख नै बनेको उदाहरण छ । आलोक जोशी, टि हर्मिस र एके दुलतले ‘रअ’ को प्रमुख नै बनेर भारतीय सारा खुफिया सञ्जालको नेतृत्व सम्हाले । दुलत पछि प्रधानमन्त्री अटलबिहारी बाजपेयीको सुरक्षा मामिला हेर्थे भने शिवशंकर मुखर्जी बेलायतमा उच्चायुक्त नियुक्त भए ।


यीबाहेक अन्य राजदूतहरु जस्तै श्यामशरणले विदेश सचिवजस्तो अत्यन्त महत्वपूर्ण पदमा बसेर राष्ट्रको सेवा गर्ने मौका पाए । राकेश सुद फ्रान्समा राजदूत भएर गए । लैनचौरमा सेकेण्डम्यान भएर बसेकामध्ये अशोक कण्ठ बेइजिङमा राजदूत छन् । नेपालमा प्रेस हेर्ने जिम्मेवारी पाएका सञ्जीव बर्मा काउन्सिलरको रुपमा चीनमै कार्यरत छन् । त्यसैगरी अपूर्वा श्रीवास्तव फ्रान्स गइन् । पी. छिरिङ जापान पुगेका छन् । गोपाल बागले लण्डन गए । अहिले काठमाडौंमा कार्यरत रुबी जसप्रित अर्को महिना फ्रयांकफर्टको लागि उड्दै छिन् । अखिलेश मिश्रा विदेश मन्त्रालयमा नेपाल र बंगलादेश हेर्ने डेस्क सम्हालेर बसेका छन् । डा. अभयकुमार ब्राजिल पुगेका छन् । त्यसैगरी नेपालमा इन्टेलिजेन्स ब्युरोको प्रथम सचिवको रुपमा सुरक्षा हेर्ने जिम्मेवारी पूरा गरी फर्किएका अरविन्द जम्मू कश्मिरको पुलिस आइजी भएर काम गरिरहेका छन् । ‘रअ’ को कर्मचारीका रुपमा काम गरेका पिटर हेनामन मणिपुरमा प्रहरीको डिजी छन् ।

टिप्पणीहरू