को को बन्दैछन् १ नम्बर प्रदेशमा मन्त्री ?

को को बन्दैछन् १ नम्बर प्रदेशमा मन्त्री ?

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आज अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्यले हिजो बिहान पदबाट राजीनामा दिएलगत्तै बहुमत सांसदको हस्ताक्षर जुटाएर राईले हिजो साँझ मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । मुख्यमन्त्री राईले आजै शपथ लिने र लगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गर्नुभएको छ । पहिलो चरणमा गठबन्धनका पाँचै दलबाट कम्तिमा एक–एक जनालाई समेटेर मन्त्रिपरिषद् गठनको तयारी गरिएको बताइएको छ ।

मन्त्रालय भागबण्डाका लागि छलफलमा जुटेका पाँच दलीय गठबन्धनका नेताहरु भर्खरै निस्किएका छन् । बिहानैदेखि छलफलमा बसेका उनीहरु शपथ ग्रहण समारोहमा सहभागी हुन प्रदेश प्रमुखको कार्यलयतर्फ लागेका छन् ।

एक सांसदका अनुसार अर्थ मामिला तथा योजना मन्त्रालय माओवादी केन्द्रले लिने सहमति जुटेको छ । माओवादीले संसदीय दलका नेतासमेत रहेका इन्द्र आङ्बोले दलको नेतृत्व गर्ने गरि उक्त मन्त्रालयमा पठाउने तयारी गरेको छ । आङ्बो यसअघि पनि सोही मन्त्री थिए ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आन्तरिक मामिला तथा कानुन र भौतिक योजना तथा पूर्वाधार मन्त्रालय लिने मोटामोटी टुङ्गो लागेको छ । काँग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा उपनेता हिमाल कार्कीलाई पठाउने भएको छ ।

त्यस्तै, समाजिक विकासमा जसपाका जयराम यादव र राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक मञ्चका विष्णु तुम्बाहाम्फेलाई लैजाने गठबन्धनमा सहमति जुटेको छ ।

एकीकृत समाजवादीका खिनुलङ्बा लिम्बू र इलामकी सरिता थापामध्ये एक जना मन्त्रिपरिषद्मा समेटिने सम्भावना रहेको बताइएको छ । माओवादी केन्द्रले उद्योग, पर्यटन तथा वन मन्त्रालयमा दाबी गरेको छ ।

तिहारपछि सरकारलाई पूर्णताः दिने गरि हाललाई बढीमा सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमति गठबन्धनका नेताहरुले गरेको ती सांसदले बताए ।

टिप्पणीहरू