तिहार नलाग्दै जताततै शुभकामना, सीके राउतको भने आन्दोलन र धर्ना

तिहार नलाग्दै जताततै शुभकामना, सीके राउतको भने आन्दोलन र धर्ना

यो वर्षको तिहार पर्व पर्सिदेखि शुरु हुँदैछ । त्यहि अवसरमा राजनीतिक दल तथा समूहले चियापान र शुभकामना आदानप्रदानको कार्यक्रम राखेका छन् । आज पनि राजधानीमा जताततै त्यस्तै कार्यक्रम तय भएको छ ।

सोही सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर कमिटिले दशैं, तिहार, नेपाल सम्बत ११४२ तथा छठ पर्व २०७८ को उपलक्ष्यमा आज शुभकामना आदानप्रदान कार्यक्रम राखेको छ । कार्यक्रम बाघ भैरब ब्याङ्क्वेट, नगाउँमा बिहान ७ बजेदेखि शुरु भएको छ ।

भक्तपुरमा बागमती प्रदेशको काँग्रेस संसदीय दलका उपनेता एवम् प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलको सम्मानमा बिहान साढे ७ बजेदेखि शुभकामना कार्यक्रम राखिएको छ । कार्यक्रम भक्तपुर बेङ्क्वेट, कालोपाटीमा राखिएको हो ।

नेपाली काँग्रेस तारकेश्वर नगरपालिका समितिले पनि दीपावली, नेपाल संवत् ११४२ र छठ पर्वको अवसरमा बिहान साढे ७ बजेदेखि शुभकामना र चियापान कार्यक्रम राखेको छ । नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा हुने कार्यक्रम टुसाल मल्टिभेन्यू, मनमैजुमा राखिएको छ । नेपाल दुग्ध बिकास संस्थानमा आज पनि कर्मचारीहरुले बिहान १० बजेदेखि बिरोध कार्यक्रम राखेका छन् ।

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले गैरकानुनी हिरासत र थुनामा राखिएकाहरुको बन्दीप्रत्यक्षीकरण रिट थुनुवाका मुद्दाहरु समेत नहेर्ने न्यायाधीशहरूविरुद्ध सर्वोच्च अदालत र बार एसोसिएसन परिसरमा कालोपट्टी बाँधेर बिरोध गर्न लागेका छन् । उनीहरुले बिहान १० बजेदेखि नै उक्त कार्यक्रम गर्न लागेका हुन् ।

त्यसैगरी नेपाल बार एसोसिएसनको आह्वानमा प्रधानन्यायाधीशको बिरोधमा आज पनि बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँध्ने छन् ।

उता सिंहदरबारमा आजै बिहान ११ बजे अर्थ समितिको र साढे ११ बजे प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै छ । दुबै बैठक समितिको सभाकक्ष, सिंहदरबारमा बस्न लागेको हो ।

जनमत पार्टीको उपत्यका समन्वय समितिले आफ्ना कार्यकर्ताहरूलाई बिना शर्त रिहाइको माग गर्दै आज पनि माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । कार्यक्रम दिउँसो २ बजे हुने बताइएको छ ।

उक्त पार्टीले घोषित आन्दोलनअनुसार तराइका अधिकांश गाउँपालिकाका ठूला बजार र हटियाहरूमा कोणसभा गरेर आन्दोलनका मागहरू जनतासमक्ष अवगत गराउने जानकारी पनि दिएको छ ।

नेपाली काँग्रेसको मुख्यालयमा सँधैझैँ आज पनि बिरोध कार्यक्रम छ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध रिले अनसन तथा धर्ना कार्यक्रम हुँदै आएको छ । आज पनि बिहान ९ बजेबाट उक्त कार्यक्रम शुरु भइसकेको छ ।

वाइसीएल शंखरापुर नगर कमिटीको बैठक राखिएको छ । जर्सिङ्पौवामा आज दिउँसो बस्ने बैठकको विस्तृत विवरण दिइएको छैन ।

टिप्पणीहरू