स्वास्थ्य शिविरले बाजेबजैमा ल्याएको खुशी

स्वास्थ्य शिविरले बाजेबजैमा ल्याएको खुशी

-शंकर श्रेष्ठ

घर नजिकै डाक्टर भेट्न पाउँदा मनमाया तामाङ निकै हर्षित् छिन् । वर्षौंदेखिको उनको धमिलो भएको आँखा अब सर्लक्क देखिने आशाले उनमा थप खुशी थपेको छ । स्वास्थ्य शिविर लिएर घर नजिकै पुगेका डाक्टरले उनलाई औषधि पनि दिएका छन् । उनी भन्छिन्, ‘काठमाडौं जान दुई तीन दिन लाग्थ्यो, यहिँ डाक्टर आए राम्रो भयो ।’

एक दशकदेखि आँखा र गोडाको समस्या भोग्दै आइरहेकी खनियाबासकी ८७ वर्षीया मनमाया अब आँखाको उपचार हुनेमा ढुक्क भएकी हुन् । आँखा जँचाउन काठमाडौं जाने कुरा गरेको धेरै भए पनि भौगोलिक विकटताले उनी अस्पताल पुग्न सकेकी थिइनन् । गाउँमै डाक्टर आएर औषधी पाउँदा उनको चाउरिएको अनुहारमा देखिएको खुशीको वर्णन गरिसक्नु थिएन ।

वर्षांैदेखि नशाको रोगले पिरोलिइरहेका नेत्रावती–१ का चन्द्रबहादुर आले पनि गाउँमै उपचार पाउँदा मख्ख छन् । जतिसुकै पीडा भए पनि गाउँकै मेडिकलबाट औषधि खाएर पीडा भुलाउँदै आएका उनलाई डाक्टरले दिएको सल्लाह पनि उपचार जस्तै बनेको छ । ‘कतिपय नशाको रोग कसरत गरेर समेत निको हुन्छ भन्नुभयो, मेरो रोग पनि बिसेक हुन्छ भन्ने विश्वास लागेको छ’ उनले सुनाए ।

उमेरले ६० नाघेकी रामकुमारी राना पनि गाउँमै उपचार पाउँदा दङ्ग छिन् । गाउँमै पुगेका डाक्टरले ग्याष्टिकको निःशुल्क औषधी दिँदै घरेलु उपचारको सल्लाह पाएकी उनलाई आफ्नो समस्या समाधान हुने आशा पलाएको छ ।

धादिङको विकट उत्तरी क्षेत्रलाई लक्षित गर्दै नेपाली सेनाले नेत्रावती–१, किन्ताङफेदीमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । दुर्गम भेगमा बसोबास गरिरहेका र स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नसक्ने अवस्थाका बिरामीलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको नेपाली सेनाका जर्नेल रविन केसीले बताउनुभएको छ । उहाँका अनुसार सबै खालका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको छ ।

शिविरमा दाँत, आँखा, मुटुरोग, स्त्रीरोग, बालरोग विशेषज्ञ चिकित्सकहरुले बिरामीको परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणमा अधिकांश वृद्धवृद्धाहरु नै पुगेका थिए । उक्त शिविरमा ५ सय जनाले सेवा लिएको नेत्रावती गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यले जानकारी दिनुभयो ।

सामान्य उपचारका लागि सदरमुकाम धादिङबेसी नै झर्नुपर्ने बाध्यता रहेको त्यस भेगमा अधिकांश नागरिकलाई शिविरले सहज बनाएको अध्यक्ष शाक्यको बुझाइ छ । दुर्गम भेगका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा धादिङ अस्पतालसहित विभिन्न स्वास्थ्य संस्था र आसपासका स्थानीय तहको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

टिप्पणीहरू