​पार्टी मिलेमा ठाउँको प्रस्ताव

पार्टी एकता भयो भने एमाले–माओवादीको संयुक्त केन्द्रीय कार्यालय कहाँ बस्ला ? एकताको मिति नटुंगिए पनि यसका केही छनक मिलेका छन् । बल्खुमा अवस्थित एमाले मुख्यालय भवन ०७२ वैशाख १२ को भूकम्पले ध्वस्त भएपछि अहिले धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा ‘डेरा’ छ । तर, गतसाता प्रचण्डलाई भेट्न पेरिसडाँडा गएका मुस्लिम नेताहरुचाहिँ ‘अबदेखि हाम्रो जनवर्गीय संगठनको कार्यालय यहीँ बस्ने भयो’ तस्वीर खिच्दै थिए । कतै प्रचण्डले नै संकेत गरेर उनीहरुले फोटो खिचेका त हैनन् ? त्यसअघि चुनावलगत्तै एमाले वरिष्ठ नेता माधव नेपाल र महासचिव ईश्वर पोखरेल पेरिसडाँडा निरीक्षण गर्न पुगेका थिए ।

एमालेले धुम्बाराहीमा प्रयोग गरिरहेको भवनमा केन्द्रीय कार्यालय सञ्चालनका लागि कोठाहरु पर्याप्त छैनन् । अध्यक्षको सचिवालयमा उनको कार्यकक्ष, भेटघाट कक्ष र सचिवालयका कर्मचारी रहने ठाउँकै अभाव छ । महासचिवका लागि छुट्टयाइएको सचिवालयमा पाँच जनाभन्दा बढी मान्छे भेट्न पुगे भने ठाउँ छैन । सचिवहरुलाई बीचको तलामा एक–एक वटा क्याबिन दिइएको छ, जहाँ पाँचजना भन्दा बढी मान्छे कुटे कोचाकोच हुन्छ । केन्द्रीय कार्यालयका सचिव र उपसचिवको बेग्लै कोठा छैन, रिसेप्सनिष्टजस्तै ढोकामा कुर्सी राखेर बस्नुपर्ने अवस्था छ । लेखा शाखा अण्डरग्राउण्डमा रहेको सभाहलसँगै छ, जहाँ आर्थिक गोपनीयताको चुहावट हुने खतरा छ । त्यसको तुलनामा पेरिसडाँडामा जमिनको क्षेत्रफल धेरै छ । पेरिसडाँडाको भवनमा पनि संयुक्त पार्टीको केन्द्रीय कार्यालय चलाउन कोठाहरु त पुग्दैनन् । तर, एमाले पक्षले उक्त जमिन पार्टीको नाममा गरिने हो भने आफ्नै कोषबाट एक वर्षभित्र आधुनिक भवन तयार पारिने प्रस्ताव पठाएको बताइन्छ ।

अहिले भूकम्पबाट क्षतिग्रस्त बल्खुस्थित भवन भत्काइसकिएको छ । तर, टहराहरु सुरक्षित छन् । त्यहाँ अहिले ३ नं. प्रदेश संगठन कार्यालय खडा गरिएको छ । यदि पेरिस डाँडामा जनसंगठनहरु राखिएमा बल्खुमा केन्द्रीय कार्यालय राख्न सकिने विषयमा पनि छलफल भएको छ । एमालेमात्रको कार्यालय रहँदा पनि बल्खु साँघुरो भएका कारण चक्रपथबाहिर, काठमाडौंको उत्तरीभेगमा किनी  कार्यालय निर्माण गर्ने पुरानो योजना थियो । त्यसअन्तर्गत धापासी, गोकर्णतिर जमिनको खोजी पनि भयो । तर, भूकम्पका कारण अरु योजना अगाडि बढ्न नसकेपछि अस्थायी कार्यालयका रुपमा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवन प्रयोग गरियो । उक्त भवन एमाले नेता कृपाशुर शेर्पाले दिलाएका थिए । खराव नियतले भवन दिलाइएको भन्दै एमालेकी तत्कालिन उपाध्यक्ष तथा हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँ पाइला नहाल्ने अडान लिएकी थिइन् । नभन्दै उनी त्यहाँ एकदिन पनि गइनन् । बरु, ०७२ माघमा त्यहीँ बसेको एमाले स्थायी कमिटी बैठकले उनलाई राष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय ग¥यो । आफूबारे निर्णय हुने बैठकमा पनि उनी पुगिनन् । त्यसपछि राष्ट्रपति भइन्, पार्टीका सबै पदबाट राजीनामा दिइन्, र त्यहाँ अब चाहेर पनि पदमा रहुञ्जेल जान मिल्दैन ।  

यसबीच, बैंककस्थित नेपाली राजदूत (सहसचिव) खगनाथ अधिकारी स्वदेश फर्किएका छन् । सेवाअवधीका कारण साउनमा अवकास पाउन लागेका उनले सचिव बन्ने अवसर नमिल्ने र ५८ वर्षे प्रावधान पनि नहट्ने भएपछि न्युयोर्कका निम्ति स्थायी प्रतिनिधिमा नियुक्तिको अपेक्षा राख्दै उच्च नेतासँग भेट्घाट गर्दै रहेको बताइन्छ । कोही घरायसी काम, कोही बिहेबारी भन्दै यसबीच विभिन्न मुलुकमा तैनाथ राजदूतहरु पनि नेपाल ओइरिएका छन् । त्यसरी फ्रान्सबाट अम्बिका मानन्धर लुइँटेल र म्यानमारबाट भीम उदास आइपुगेका हुन् । साउदी अरेबियाका महेन्द्र सिंह र जापानकी प्रतिभा राणा भने आफ्नो कामकाज सकेर फर्किए । 

त्यस्तै, अमेरिकाको राजधानी वासिङ्गटनडिसीमा कार्यरत नेपाली राजदूत बस्ने निवास प्रयोजनको निम्ति ९० करोडको सिलिङ तोकेर घर किन्ने प्रक्रिया अघि बढाइएको छ ।

टिप्पणीहरू