गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको जिम्मा

गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको जिम्मा

गृहमन्त्री बालकृष्ण खाँणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । एक साताका लागि बेलायत भ्रमणमा निस्किनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले खाँणलाई कार्यवाहक तोक्नुभएको हो ।

गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको पत्र हिजो साँझ नै प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा पठाउनु भएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाको सिफारिसमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्य संविधान बमोजिम गृहमन्त्री खाँणले सम्हाल्ने गरि राष्ट्रपति विद्या भण्डारीले तोक्नुभएको जनाइएको छ ।

प्रधानमन्त्री देउवा आज बिहान २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत प्रस्थान गर्नुभएको छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह, उर्जा, अर्थ, परराष्ट्र र बन तथा वातावरण मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सचिव, सुरक्षा अधिकृत, सरकारी सञ्चारमाध्यमका पत्रकार, प्रधानमन्त्रीका नीजि सचिवलगायत सहभागी छन्।

टिप्पणीहरू