प्रधानमन्त्रीको बिदाइ सिष्टम फेरियो,विमानस्थलमा तामझाम नगर्न निर्देशन

प्रधानमन्त्रीको बिदाइ सिष्टम फेरियो,विमानस्थलमा तामझाम नगर्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP 26 मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । नोभेम्बर १ र २ का दिन उक्त सम्मेलनमा भाग लिएर उहाँ स्वदेश फर्किने कार्यक्रम छ ।

पाँचौं पटक प्रधानमन्त्री हुनुभएका देउवाले यसपटक सरकार प्रमुखलाई विमानस्थलमा गरिने पहिलेको जस्तो औपचारिक बिदाई र स्वागतको तामझाम नगर्न निर्देशन दिनुभएको बताइन्छ ।

प्रधानमन्त्री कार्यालयले आज विमानस्थलमा सलामी, औपचारिक उपस्थितिजस्ता केही पनि तडकभडक नगर्न आदेश दिएको छ । उच्च स्रोतका अनुसार आज प्रधानमन्त्रीले विमानस्थलबाट विमानतर्फ जाँदा त्यहाँको भीभीआईपी कक्ष प्रयोग गर्नु हुने छैन ।

सम्भवतः उहाँ सवारी साधनमा सोझै विमानसम्म पुग्नुहुनेछ । अर्को स्रोतले भनेको छ, ‘सेनाले सलामी दिने ठाउँ भएर जानु हुनेछ, तर औपचारिक केही पनि नगर्ने भनिएको छ ।’

यसभन्दा पहिले यसरी सरकार वा राष्ट्र प्रमुख विदेश भ्रमणमा जाँदा अतिविशिष्ट कक्षमा आराम र चियापान हुन्थ्यो । त्यसपछि सलामी लिएर विमानस्थलतर्फ जाने काम गरिन्थ्यो । तर,आज बिदाईको लागि सबै जनालाई ताँती लागेर विमानस्थलमा नआउन भनिएपछि प्रधानमन्त्रीको बिदाईको सिष्टम फेरिएको हो ।

प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमणको निम्ति नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणले हिजो अपरान्हसम्म सबै तयारी पूरा गरेको बताइन्छ । उसले सलामीदेखि विमानस्थलसम्मका सबै तयारी पूरा गरेपछि हिजो साँझ एकाएक कुनै पनि तयारी नगर्न आदेश आउँदा पररास्ट्र मन्त्रालयअन्तर्गत शिष्टाचार महापालको उच्च तहसमेत अचम्भित भएको थियो ।

स्रोत भन्छ, ‘अब कोही पनि सेना, प्रहरी,सरकारी अधिकारी तथा मन्त्रीहरु चिरिच्याट्ट परेर सवारी साधन हुईंकाउँदै विमानस्थल जानु नपर्ने भएको छ ।’ यसरी प्रधानमन्त्री देउवाले पाँचौ पटक प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमणबाट बल्ल एउटा नयाँ थालनी गर्न लाग्नुभएको छ ।

प्रधानमन्त्रीको बेलायत र स्टकल्याण्ड भ्रमण तालिका यस्तो छ :

स्कटल्याण्ड पुग्नुअघि उहाँ शनिबार बेलायतको राजधानी लण्डनमा आयोजना हुने बेलायती सांसदहरुको एक समूह र युके–नेपाल ट्रेड एण्ड इन्भेष्टमेण्ट फोरमको कार्यक्रममा सहभागी हुनुहुने छ । त्यसैगरी आइतबार गैरआवासीय नेपाली संघ,भूपू गौर्खा सैनिकहरुको संस्थाका प्रतिनिधिलगायतसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

सोमबार उहाँले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ को उद्घाटन समारोहमा सहभागी भएर त्यही दिन वर्ल्ड लिडर्स समिटलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुहुनेछ । सो क्रममा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम छ ।

स्कटल्याण्ड र बेलायतको कार्यक्रम सकेर १८ गते स्वेदश फर्कनुहुनेछ ।

टिप्पणीहरू