बझाङको पहिरोमा बेपत्ता १९ जनालाई मृतक घोषणा गरिने

बझाङको पहिरोमा बेपत्ता १९ जनालाई मृतक घोषणा गरिने

कात्तिक पहिलो साता परेको बेमौसमी अविरला वर्षाका कारण गएको पहिरोले बझाङको थलारा गाउँपालिका सबैभन्दा धेरै प्रभावित बन्यो । पहिरो जाँदा उक्त स्थानका २३ जना बेपत्ता भए ।

बेपत्तामध्ये ४ जनाको शवको केही अंश फेला पर्यो तर, बाँकी १९ जनाको भने अहिलेसम्म अत्तोपत्तो लाग्न सकेन । दश दिनअघि गएको पहिरोमा बेपत्ता भएकाहरुलाई तीन वटै सुरक्षा निकायले खोजी गरे पनि पत्तो नलागेपछि खोजी कार्यमा खटिएको टोली फर्किएको छ ।

पहिरोमा परी बेपत्ता भएकाहरुको भेटिने सम्भावना न्यून हुँदै गएपछि खोजीकार्यमा खटिएको प्रहरी टोलीलाई फिर्ता बोलाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभएको छ । आज जनआस्थासँग कुराकानी गर्दै अधिकारीले पहिरो पिडितका परिवारसँग कुराकानी गरेपछि मात्र प्रहरीलाई फिर्ता बोलाइएको बताउनुभयो ।

प्रजिअ अधिकारीका अनुसार पहिरोमा परेर बेपत्ता भएका नागरिकहरुलाई मृतक सरहको राहत दिइने छ । गृहमन्त्रालयको निर्देशनअनुसार बेपत्ता सबैको पहिले मृत्यु दर्ता गरिने र त्यसपछि मात्र राहत रकम उपलब्ध गराइने छ । कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए ।

टिप्पणीहरू