मुख्यमन्त्रीको राजीनामापछि एमालेको बैठक लगालग

मुख्यमन्त्रीको राजीनामापछि एमालेको बैठक लगालग

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हिजो बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको छ । गत भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त शाक्य पदभार ग्रहण गर्दा नगर्दै अल्पमतमा पर्नुभएको थियो । हिजो प्रदेशसभाको बैठक बोलाइएको र उहाँले आफ्नो पक्षमा कुनै हालतमा बहुमत नपुग्ने देखेपछि त्यस अगावै राजीनामा दिनुभएको हो ।

आज दिउँसोसम्ममा सत्ता गठबन्धन दलहरुको तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रदेश संसदीय दल नेता तथा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे नयाँ मुख्यमन्त्री बन्ने हुनुभएको छ । नयाँ मुख्यमन्त्रीको दाबीको निम्ति प्रदेशप्रमुखले आज दिउँसो ३ बजेको समयसीमा तोक्नुभएको छ ।

यता, मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिएलगत्तै एमाले बागमती प्रदेश सम्पर्क समितिको बैठक बोलाइएको छ । बैठक महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा तुल्सीलाल स्मृति भवन,च्यासल, ललितपुरमा अहिले बिहान साढे ७ बजे बोलाइएको हो ।

आजै एमालेले स्थायी कमिटीको बैठक पनि डाकेको छ । बैठक सँधैझैँ आज पनि तुल्सीलाल स्मृति भवन, च्यासलमा बस्न लागेको हो । स्थायी समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।

टिप्पणीहरू