मन्त्री हुँदै एमाले छाड्ने खनाल फेरि मन्त्री

मन्त्री हुँदै एमाले छाड्ने खनाल फेरि मन्त्री

नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनाल अचानक चन्द्रागिरी हिल्समा जारी प्रस्तावित नेकपा एकीकृत समाजवादीको स्थापना बैठकमा पुगेपछि शुरु भएको एमाले बिभाजनको सिलसिला अन्ततः शाक्यलाई बिस्थापित गरेर फेरि लयमा फर्कँदैछ ।

गएको भदौ ३ गते सामाजिक विकास मन्त्रीमा नियुक्त खनाल तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । शाक्यले मन्त्री पदमा नियुक्त गर्दा हौसिएको एमाले खनाल अचानक चन्द्रागिरी बैठकमा पुगी त्यहाँबाट सोझै निर्वाचन आयोगमा समेत उपस्थित भएर प्रस्तावित नेकपा एकीकृत समाजवादीतर्फ सनाखत गरेपछि भने झस्कियो ।

स्रोतका अनुसार त्यतिखेर खनाललाई एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री शाक्य,निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल,प्रमुख सचेतक दीपक निरौलालगायतले एमालेमै अडिन र केन्द्रमा ‘दश भाइ’ झैँ टिकिराख्न निकै प्रयास गर्नुभएको थियो । त्यस क्रममा मुख्यमन्त्री शाक्य र खनालबीच त भनाभन नै भएको थियो ।

शाक्यले ‘त्यत्रो आड भरोसा गरेर मन्त्री बनाएँ,अहिले किन यस्तो धोका दिनुभएको ?’ भनेर प्रश्न गर्दा खनालले ‘यही प्रश्न एकपटक आफैलाई गर्नुहोस्’ भन्ने जवाफ दिएको सन्दर्भ निकै चर्चामा थियो ।

उनै खनाल आज फेरि बाग्मतीको सामाजिक विकास मन्त्रीमा पुनः नियुक्त हुँदै हुनुहुन्छ । तर,नियुक्त गर्ने मुख्यमन्त्री शाक्य हुनुहुने छैन, आफैले सनाखत गरेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा उपाध्यक्षसमेत रहनुभएका राजेन्द्र पाण्डेले उहाँलाई नियुक्त गर्नुहुनेछ ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान,नेपाली काँग्रेसबाट कृष्ण भँडेल र नेकपा (एकीकृत समाजवादी) बाट कृष्ण खनालसहित ४ सदस्यीय मन्त्रिमण्डलले सपथ लिनेछ । तिहारअघि नै विश्वासको मत लिएर धमाधम काममा लाग्नेगरी सत्ताधारी दल नेपाली काँग्रेस, माओवादी,नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार रहेको नेताहरुले बताएका छन् ।

हिजो बुधवार मुख्यमन्त्री शाक्यले राजीनामा दिएपछि गठबन्धनले ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेको छ ।

टिप्पणीहरू