बाढीमा वेपत्ता थप एकको शव फेला, पाँचथरमा मृतकको संख्या ३१ पुग्यो

बाढीमा वेपत्ता थप एकको शव फेला, पाँचथरमा मृतकको संख्या ३१ पुग्यो

-लेखनाथ शिकारु

बाढीले वगाएर एक सातादेखि वेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर वेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आले मगरको शव हिजो फेला परेको हो ।

मालुवामा आएको बाढीले प्रेमसहित उनकी भतिजी सम्पदा आले मगरलाई पनि बगाएर वेपत्ता बनाएको थियो । सम्पदाको शव तीन दिनअघि शिवा खोलामा फेला परेको थियो । प्रेमको शव पनि शिवा खोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

योसँगै पाँचथरमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ भने तीन जना अझै वेपत्ता छन् । उनीहरु सबै जिल्लाको मिक्लाजुङ गाउँपालिकाका हुन् ।

वेपत्ताहरुको खोजीका लागि प्रहरीको तालिम प्राप्त कुकुर झिकाइएको छ । तालिम प्राप्त कुकुरसहितको टोली हिजो मिक्लाजुङ–४ रबि आइपुगेको र आजबाट खोजी कार्य सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

टिप्पणीहरू