​भूमिगत जाने प्रयास भरमग्दुर

सरकार कडा ढंगबाट आयो र यसले अब कुनै पनि उद्दण्डता सहँदैन भन्ने वातावरण सिर्जना भएको छ । यही कुरा विप्लवहरूको हकमा पनि लागू हुने देखिन्छ । अदालतसमेत उक्त समूहसँग डराएको छ । यदि, सरकारले कडा कदम चाल्ने हो भने उनको पार्टी तुरुन्तै भूमिगत हुने तयारीमा छ । उनीहरू अहिले सानातिना आक्रमण (डाङडुङ) गर्ने, भौतिक कारबाही गर्ने अनि त्यसको जिम्मेवारीचाहिँ नलिने गर्दै छन् ।

मानिसलाई आतंकित पार्ने र चन्दा असुल्ने क्रमले तीव्रता पाएको छ । यदि, कुनै कार्यकर्ता पक्राउ परिहाल्यो भने त्यसविरुद्धचाहिँ विज्ञप्ति जारी गर्ने र छुटाउन दबाब दिने नीति विप्लव समूहले अंगीकार गर्ने गरेको छ । राज्यले दमन ग¥यो भन्दै मानवअधिकारवादी र बिबिसीलाई रिपोर्टिङ गर्नेजस्ता काम गरिरहेका छन् । उनीहरू समातिएका आफ्ना कार्यकर्ता राज्यद्वारा बेपत्ता नहुन् भन्नेमा निकै सचेत देखिन्छन् । समग्रमा विप्लवहरू अति चलाखीपूर्ण ढंगले आफ्नो काम गरिरहेका छन् । संगठन विस्तारलाई पनि आक्रामक ढंगले बढाइरहेको सुरक्षा संयन्त्रहरूले राज्यलाई रिपोर्टिङ गरेको बताइन्छ । अहिले जनकारबाहीमा उनीहरूले योङ रेडफोर्स र विद्यार्थीलाई सक्रिय बनाएको देखिन्छ ।

जनस्वयंसेवकलाई प्यारा मिलिटरी शैलिमा ढालिएको छ । तिनले क्रसर उद्योग, विदेशी लगानीका स्कुल तथा उद्योगधन्दा र व्यापारीबाट पैसा उठाएको उठायै छन् । बदनाम भएका मानिसलाई जनकारबाही गर्ने र जनताको मन जित्ने काम पनि गरिरहेका छन् । केही समयअघि विराटनगरबाट स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली पक्राउ परेका थिए । तर, अहिले छुटिसकेका छन् । स्रोतका अनुसार उनीहरूले न्यायाधीश र तिनको परिचरलाई धम्क्याएर पक्राउ परेका नेता–कार्यकर्ता छुटाउने रणनीति अंगीकार गरेका छन् । स्थायी समितिका पाँच सदस्यमध्ये खड्ग बिक कर्णाली, दाङ र सुर्खेततिर केही समयअघि देखिएका थिए । दाङ, कर्णाली, भेरीतिर सन्तोष बुढा केही बाक्लो देखिने गरेका छन् । अब विप्लवहरूले कतिबेला के गर्छन् भन्ने पत्तो छैन । त्यसैले राज्यले फुकी फुकी पाइला चाल्ने र ट्य्राकबाट बाहिर जान नदिने विधि अपनाउनुपर्ने सुझाव सुरक्षा फौजको तर्फबाट दिइएको छ । 

टिप्पणीहरू