श्रम विभागमा सर्वसाधारणसङ्ग हातपात

श्रम विभागमा सर्वसाधारणसङ्ग हातपात

हिजो वैदेशिक रोजगार विभागमा कर्मचारी र सेवाग्राहीबीच हात हालाहाल भएको छ । विभाग पुगेका एक जनाले न्याय माग्दा उनीमाथि हातपात भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोलाई आधार मान्दा उनी वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक गएको र त्यहाँ आफूलगायतका नेपालीले पारिश्रमिक नपाएपछि आफ्नै देशको सम्बन्धित निकायमा उजुरी गर्न गएको देखिन्छ ।

सार्वजनिक भिडियोअनुसार आक्रोशित युवाले आफूलाई हतकडी लगाउनुमा विभाग जिम्मेवार रहेको बताएका छन् । उनले न्याय माग्दा कुटपिट गर्ने कस्तो विभाग हो ? श्रम विभाग हो कि तस्कर विभाग ? भनेर प्रश्न गरेका छन् ।

यसबारे बुझ्दा वैदेशिक रोजगार विभागले हिजोको घटनालाई स्वीकारेको छ । तर, त्यहाँका कर्मचारी कसैले पनि बिस्तृतमा बोल्न चाहेनन् । उपल्लो तहमा रहेका कर्मचारीले पनि विभिन्न बहानामा टारेका छन् ।

आज जनआस्थासँग कुराकानी गर्दै त्यहाँका एक जना कर्मचारीले भने, ‘हिजो मेरो बिदा थियो त्यसबारे मलाई केही जानकारी नै छैन ।’ विभागका सूचना अधिकारी कमल ज्ञवालीसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

जनआस्थाले महानिर्देशक दिपक काफ्लेसँग सम्पर्क राखेको थियो । उहाँले पनि खासै बोल्न चाहनुभएन । ‘हिजो विवाद भएको हो तर, त्यसबारे कार्यालयमै सम्पर्क गर्नुहोस् भन्दै टेलिफोन काटिदिनुभयो ।’

टिप्पणीहरू