सर्वोच्चमा अझै इजलास बस्न सकेन

सर्वोच्चमा अझै इजलास बस्न सकेन

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले आज सात वटा इजलास तोके पनि यतिबेरसम्म कुनैपनि इजलास बसेको छैन । सर्वोच्चको पेशीअनुसार छ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको छ । तर १४ जना न्यायाधीशको विद्रोहका कारण अहिलेसम्म बेन्च बस्न नसकेको हो ।

आज न्यायायाधीश बमकुमार श्रेष्ठको एकलसहित न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँल,मीरा खड्का र कुमार रेग्मी,हरिकृष्ण कार्की र मनोजकुमार शर्मा,विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाका साथै प्रकाशमानसिंह राउत तथा सुष्मालता माथेमाको संयुक्त इजलास तोकिएको छ । तर अहिलेसम्म कुनै इजलास बसेको छैन ।

राजधानीमा उपलव्ध १४ जना न्यायाधीशमध्येबाट प्रधानन्यायाधीशले आफूबाहेकको इजलास तोके पनि कोही अघि नसरेको सर्वोच्च प्रशासनले जनाएको छ । हिजो १४ जना न्यायाधीश प्रधानन्यायधीशविरुध्द छुट्टै छलफलमा बसेका थिए । उनीहरु अहिले बैठकमा जुटेका कारण इजलास बस्न नसकेको बताइएको छ ।

हिजो १४ जना न्यायाधीश टि ब्रेक पछिको इजलासमा बसेका थिएनन् । ती बाहेकका अन्य न्यायाधीशमध्ये कोही घर बिदा, कोही भ्रमण र कोही विदेशमा रहेको सर्वोच्चले जनाएको छ ।

न्यायाधीश नहकुल सुवेदी र तेजबहादुर केसी आज आकस्मिक बिदामा बस्नुभएको छ । न्यायाधीश ईश्वर खतिवडा अमेरिकामा हुनुहुन्छ । सपना मल्ल र अनिल सिन्हा श्रीमान् खप्तड भ्रमणमा रहनुभएको बताइएको छ ।

टिप्पणीहरू