भाइटीकाको माला उन्न थालियो

भाइटीकाको माला उन्न थालियो

हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आउन अझै १० दिन बाँकी छ । तिहारको अन्तिम दिन भाइटीका आउन थप पाँच दिन गरेर १५ दिन बाँकी छ । तर अहिले भक्तपुरमा भाइ तिहारको लागि मखमली फूलको माला उन्न थालिएको छ ।

गुण्डुमा मखमली फूल टिप्न र माला उन्न किसानहरुलाई चटारो भएको छ । मखमली फूलको व्यावसायिक खेती हुने भएकाले त्यहाँका किसानलाई फूल टिप्न भ्याइनभ्याइ भएको हो ।

गुण्डु क्षेत्रको बारी र खेतमा मखमली फूल ढकमक्क फुलिसकेका छन् । तिहारमा मखमली फूलले निकै महत्व राख्ने र यसको माग बढ्न थालेपछि विगत केही वर्षदेखि गुण्डु क्षेत्रमा मखमलीको खेती गर्न थालिएको हो ।

मखमली फूल नओइलाउने भएकाले अहिलेदेखि नै फूल टिपेर गाँस्न थालिएको हो । तिहारमा अत्यधिक मात्रामा मखमली फूलको खपत हुने गर्छ । दाजुभाइलाई लगाइदिन अधिकांशले मखमली फूल रोज्ने गर्छन् ।

भक्तपुरका पुष्प किसानहरुलाई फूल बिक्री गर्न तिहारमा बजारको त्यति ठूलो समस्या भने छैन । व्यापारी र स्थानीयहरुले घरमै आएर फूल किनेर लैजाने भएकाले किसानहरु दंग देखिन्छन् । आम्दानी बढी हुने भएकाले अधिकांशले जग्गा भाडामा लिएर भए पनि मखमली फूलको खेती गर्ने गरेको पाइन्छ ।

फूल खेतीबाट नाफा बढी हुने भएकाले किसानहरुले अहिले धान र मकै जस्ता खाद्यबालीको सट्टा यो सिजनको लागि फूल लगाउन थालेका हुन् ।

टिप्पणीहरू