एक्लो प्रयासमा ८ जनालाई रोजगारी, हजारौंको उध्दार

एक्लो प्रयासमा ८ जनालाई रोजगारी, हजारौंको उध्दार

-अमृत बास्कुने

हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दीको उत्तरी भेगमा कुनै अप्ठेरो परिस्थिति आउँदा सबैले सम्झिने नाम हो, इन्द्रसिंह शेरचन । बाढी, पहिरोलगायतका अन्य विपदजन्य घटनाको बेला अग्रपंक्तिमा खट्न उनलाई कसैको निर्देशन चाहिंदैन । बरु जानकारी पाउनेबित्तिक्कै सुरक्षा निकायलाई खबर गरेर उध्दारमा खटिने उनको ड्युटीजस्तै बनेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२, नाउरीकोट घर भै अहिले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा मुस्ताङ लेते होटल सञ्चालन गरेका शेरचनले ८ जनालाई रोजगारी पनि दिएका छन् । भारतको दार्जिलिङ घर भएका निमा लामाले कुकको जिम्मा पाएका छन् । निमाका ४ सन्तान अनि श्रीमती गरी ६ जना त्यहिँ बस्छन् । त्यस्तै, म्याग्दीकै मंगला गाउँपालिका–१ पूर्णगाउँका राजु पाण्डे अर्को कुक हुन् । राजुको परिवारका पनि ३ जना होटलमै कार्यरत छन् । १३ जना शेरचनको होटलमा आश्रित भए पनि ८ जनाले पूर्णरोजगार पाएका छन् भने अन्य ५ जना स्कुल पढ्ने बालबालिका हुन् । ती बालबालिकाको पढाइ लेखाइको जिम्मा पनि शेरचनले नै लिएका छन् ।

शेरचन २०६३ सालमा नाउरीकोटबाट म्याग्दी सदरमुकाम बेनीमा आएर मुस्ताङ लेते होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्न थालेका हुन् । ०६३ देखि ०७१ सम्म बेनीमा होटल चलाएका उनले एक वर्ष पोखरामा पनि व्यवसाय गरे । २०७४ सालमा पुनः दानाबाट आफ्नो व्यवसायलाई निरन्तरता दिएका उनको मुस्ताङ लेते होटल ब्राण्ड बनेको छ । बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत पर्ने दानामा रहेको होटल त्यस क्षेत्रमै उत्कृष्ट मानिन्छ ।

तीन सन्तानका पिता शेरचनले एक छोरी र एक छोराको विवाह गरिसकेका छन् भने एउटी छोरी पोखरामा छिन् । शेरचनका छोरा र जेठी छोरी पनि पर्यटन व्यवसायमै आवद्ध छन् । मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनका अनुसार सामाजिक कार्यमा सदैव खटिने नाम हो इन्द्रसिंह शेरचन । नाउरीकोटका शेरचनले आफ्नो क्षेत्रमा पनि पहिल्यैदेखि नै सामाजिक संघसंस्थाको अगुवाइ गर्नुका साथै अन्य गतिविधिमा पनि सक्रिय सहभागिता जनाउने गरेको सांसद तुलाचनको भनाई छ ।

बेनी–जोमसोम सडक खण्डमा हुने सबैखाले विपद्का सारथी शेरचनले उक्त सडकमा यात्रा गर्ने तीन हजार भन्दा बढी यात्रुलाई त पिठ्युँमा बोकेरै सडक पार गराइसकेका छन् । वर्षातको समयमा सडक अबरुद्ध हुँदा शेरचन अहोरात्र समस्यामा परेका यात्रुको उद्धारमा खट्ने गरेको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष सुरत के.सी.बताउँछन् ।

उनै शेरचनलाई संविधान दिवसका दिन सरकारले दिने पदक सिफारिस गरेपनि छनोट नगरेकोमा धेरैको चित्त दुखाइ छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडल पनि बेनी–जोमसोम सडक खण्डमा हुने कुनै पनि बिपतका घटनामा अग्रपंक्तिमा खटिने सामाजिक अगुवाका रुपमा शेरचनलाई लिन्छन् । ‘प्रत्येक पटक जहाँ अप्ठेरो पर्छ त्यहाँ पुग्ने शेरचनको विशेषता नै हो’, प्रजिअ पौडेलको भनाई छ ।

२०७६ माघ १६ गते अन्नपूर्ण गाउँपालिकाको खोप्रा क्षेत्रमा ४ जना आन्तरिक पर्यटक पदमार्गमा बाटो बिराएर हराउँदा शेरचनले नै उद्धार गरेको म्याग्दीका तत्कालीन प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल स्मरण गर्छन् । हाल रक्षा मन्त्रालयमा उपसचिवका रुपमा कार्यरत ढकाल भन्छन्, ‘बेनी-जोमसोम सडक खण्डमा हुने दुर्घटनाको पहिलो सूचना दिने व्यक्ति पनि शेरचन नै हो ।’

धौलागिरी हिमालमा विदेशी नागरिक हराउँदा अगुवाइ गरेर शेरचनले धेरैको उद्धार गरेको जानकारहरु बताउँछन् । अहिले पनि धौलागिरी र अन्नपूर्ण आधार शिविरसम्म पर्यटक र उनीहरुको सामग्री पुराउन उनी अहोरात्र खट्ने गरेका छन् ।

सरकारले शुरु गरेको कोभिडविरुद्धको खोप कार्यक्रममा पनि शेरचनले ठूलो गुन लगाएको स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारी बताउँछन् । मुस्ताङसम्म लैजानु पर्ने खोप बेनी-जोमसोम सडक अबरुद्ध हुँदा शेरचनले पिठ्युँमै बोकेर पुर्याएको उनले सुनाए ।

बेनी-जोमसोम पाइलट ट्रयाक खुले सँगै २०६७ को दशैंमा काभ्रे भीरमा दर्जनौँ व्यक्तिको ज्यान जाने गरी भएको जीप दुर्घटनामा पनि शेरचनले उद्धारको कमाण्ड सम्हालेका थिए । उनै शेरचनलाई संविधान दिवसका दिन सरकारले दिने पदक सिफारिस गरेपनि छनोट नगरेकोमा धेरैको चित्त दुखाइ छ ।

टिप्पणीहरू