सिंहदरबारमा करङ सहिद
सस्तो लोकप्रियताका लागि मानिसले कतिसम्म अराजकतापूर्ण काम गर्छन् भने राणाले बनाइदिएको मुलुकको केन्द्रीय सचिवालयभित्र पश्चिमपट्टिको मूलढोका अर्थात् पृथ्वीनारायण शाहको सालिक भएपट्टि बाहिरैबाट हेर्दा लाग्छ कि कुनै कंकाल झुन्ड्याएर राखिएको छ ।
त्यता उभिएर हेर्ने हो भने हाडजोर्नी विशेषज्ञको कोठाझैं प्रतित हुन्छ सिंहदरबार परिसर जहाँ जताततै करङ र खोपडीका नमुना भित्तामा झुन्ड्याइएका हुन्छन् । सिंहदरबारलाई बाँसको खटले नौ महिनादेखि बाँधेको र प्लास्टिक पालले छोपेर राखेको देखिन्छ । वर्षा शुरु हुन लागिसक्यो । अब कहिले झरीले लडाउने हो त्यसको चिन्ता कसैलाई हैन । त्यसमा अहिलेसम्म ४ करोड लगानी भइसक्यो तर काममा प्रगति भने केही भएको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा यसअघिका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले त्यो कामको थालनी गरे र प्युठानबाट चुनाव लड्न गए । त्यसपछि आएका सिइओ युवराज भुसाललाई त्यता फर्केर हेर्ने फुर्सद भएजस्तो देखिँदैन जबकि उनको कार्यालय त्यही भवनको पछिल्लो भागमा छ । प्रश्न के हो भने भूकम्पले पु¥याएको क्षति र त्यसको पुनर्निर्माणमा भएको प्रगतिबारे छानबिन कसले गर्ने ? कति पीडितले घर बनाए ? त्यो हेर्न प्राविधिक गएका छैनन् । पहिलो किस्ता बुझेर काम गर्नेहरूको यकिन तथ्यांक नै छैन ।
त्यसबेला निवेदन दिने सात लाखमध्ये ६ लाखले पहिलो किस्ता प्राप्त गरेका हुन् । दोस्रो किस्ता माग गर्ने जम्मा १ लाख मात्र छन् । तेस्रो किस्ता माग गर्नेको संख्या २०/३० हजार हाराहारीमा मात्र रहेको प्राधिकरणसम्बद्ध स्रोत बताउँछ । बनेका पनि मापदण्डबमोजिमका छन् वा छैनन् भन्ने चासो कसैलाई छैन । स्वबासी भनिएकाहरूले पहिले जहाँ घर थियो त्यहीं बनायौं भन्छन् तर लालपुर्जा नै छैन । हाम्रो ताल नै यस्तो भएपछि विदेशीले कबुल गरेको सहयोग कसरी दिने ? के सधँै बैठक बसेर मात्र हुन्छ ?