कलँकीमा खसी खाँदा हाकिम खुस्किए

कलँकीमा खसी खाँदा हाकिम खुस्किए

– प्रशान्त रोका, काठमाडौें

यतिबेला प्रहरीभित्र एउटा काण्डले खूब चर्चा पाएको छ – त्यो हो, काठमाडौँस्थित कलंकीको ’खसी र घुस काण्ड ।’ चर्चाको शीर्षस्थानमा छन्–महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) शङ्कर खड्का ।

यसो त उनी बेला–बेला सामाजिक सञ्जालमा कतै धन्यवाद त, कतै बधाई थापिरहेका हुन्छन् । यो इन्स्पेक्टर खड्काको गजबको शैली हो । कारण– उनी जहाँ पुग्छन् कडा रूपमा प्रस्तुत हुन्छन् र नागरिकमाथि अनेक दुःख थुपार्छन् ।

कलंकी क्षेत्रको ट्राफिक कमाण्ड सम्हालेका उनले बर्दीको दुरूपयोग गर्दै यातायात व्यवसायीदेखि मासु पसलका सञ्चालकलाई धम्काउँदै रकम उठाउने गरेको गुनासो यस अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगेपनि वास्तै हुँदैनथ्यो ।

दशैंको अघिल्लो सातादेखि यसक्षेत्रका खसी व्यापारीहरूको पछि–पछि लागेर इन्स्पेक्टर खड्काले हैरान पारेको पीडितहरू बताउँछन् । सुरक्षामा खटिएका प्रहरीहरू नै घुसदेखि ‘दशैं खसी’ माग्दै हिंडेको खबर प्रहरी प्रधान कार्यालयमा पुगेपछि उनीहरू विभागीय कारबाहीमा परेका छन् ।

घुस पुष्टि भएपछि ट्राफिक प्रहरीले उनीमाथि विभागीय कारबाही अघि बढाएको प्रहरी स्रोतले जनाएको छ । खड्काले पदीय मर्यादा भुलेर पैसा उठाउने गरेको प्रमाणसहित गुनासो प्रहरी प्रधान कार्यालयसम्मै पुगेको स्रोतले जानकारी दियो । त्यसपछि उनलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान अघि बढाइएको हो ।

उनले बालुवादेखि पेट्रोल डिपोसम्म घुस माग्ने गरेको गुनासो महाशाखामा आउने गरेको महाशाखाका एक अधिकारीले बताए । ‘इन्स्पेक्टर साप सवारी चेकिङ्गमा कडा मानिन्छन्,तर त्योभन्दा कडा घुस खाने मामिलामा रहेछन्,’ कलंकीका एक व्यापारीले भने । ती व्यापारी कलंकीमा मासु पसल चलाउँछन् । उनले दशैंका लागि उपत्यका बाहिरबाट सयौँ खसी भित्र्याउँदा एउटा खसी र अर्काे एउटा खसीको मूल्य बराबर पैसा उनै इन्स्पेक्टर खड्कालाई बुझाउन बाध्य भएको दुःखेसो पोखे ।

खड्काको रोचक पक्ष पनि कम्ति रमाइलो छैन । स्थानीय नेता र खासखास सञ्चारकर्मी साथमा लिएर सामाजिक सञ्जालमार्फत् आफ्नै प्रचारमा खटाउँछन् । यतिसम्म कि कलंकीक्षेत्रका कतिपय बस्तीहरूमा आफै योजना बनाउँथे, आफै सम्मान थाप्थे तर यो सबै तामझमका लागि स्थानीयलाई प्रयोग गर्थे ।

‘कलंकीमा बेलुकीपख इन्स्पेक्टर साप पैसा ताकेर पर्खेका हुन्थे । काठमाडौँबाट घर्तीगाउँ जाँदा होलेरीमा पटकपटक घुस दिएको मलाई याद थियो । कलंकीमा पनि देखेपछि दिनैपर्थ्यो । इन्स्पेक्टर सापको घुस खाने बानी जहाँ गए पनि उस्तै,’ रोल्पा–काठमाडौँ चल्ने रात्रिबसका एक चालक भन्छन् ।

प्रचारमा रमाउन माहिर इन्स्पेक्टर खड्का यसअघि रोल्पास्थित जिल्ला प्रहरी कार्यालय र घर्तीगाउँ–होलेरी प्रहरी चौकीमा बसेका थिए । त्यतिबेला उनले चर्चा कमाउनैका लागि ’विप्लव’ नेतृत्वको नेकपा समर्थकमाथि अनेक दुःख दिए । ’विप्लव’निकट भएको आरोप लगाउँदै शिक्षकलाई सम्म छाडेनन् ।

यतिमात्रै होइन,होलेरी पुगेपछि चेकिङ्गको नाममा यसक्षेत्रका यात्रुमाथि दुःखैदुःख थुपारे । इन्स्पेक्टर खड्काले एकताका होलेरीका स्थानीय युवालाई ट्राफिक कारबाहीको नाममा भाले मागेर हैरान पारेको बेला–बेला गुनासो आइरहन्थ्यो । तर यस्ता गुनासा कैयौँ आएपनि उनका प्रचारहरूले क्षणभरमै ओझेलमा पार्थे । र, कसैले पत्याउँदैनथे ।

‘उहाँको काम होटेलमा बसेर चिया र समोसा खाने हुन्थ्यो तर गाडी–बाइक चेक गर्ने नाममा केटाहरू लाइसेन्सभित्र ५ सय, हजार माग्थे,’ रोल्पा होलेरीका एक युवा व्यवसायी भन्छन् । उनी रोल्पाबाट कलंकी ट्राफिक इन्चार्ज भएर आएको धेरै समय भएको थिएन तर घुस लिएको पुष्टि भएपछि कारबाहीमा परेका हुन् ।

टिप्पणीहरू