आफ्नै कानूनी सल्लाहकारलाई ओलीको कटाक्ष,”हामीले नल्याए कसले ल्याउँछ बहुमत ?”

आफ्नै कानूनी सल्लाहकारलाई ओलीको कटाक्ष,”हामीले नल्याए कसले ल्याउँछ बहुमत ?”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्दै सोहीअनुसारका अभिव्यक्ति दिन नेता-कार्यकर्तालाई सार्वजनिक रुपमै सचेत गराउनुभएको छ ।

आज बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले एमालेले बहुमत ल्याउने भएकाले ‘कसैको पनि बहुमत आउँदैन’ भनेर अभिव्यक्ति नदिन सचेत गराउनुभएको हो । यस्तो धारणा दुई दिनअघि उहाँकै पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले प्रकट गर्नुभएको थियो ।

पूर्व कानून मन्त्री तथा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेका एमाले नेता अग्नि खरेलले अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत नल्याउने बताउनुभएको थियो । खरेलको उक्त भनाइको खण्डन गर्दै ओलीले एमालेले बहुमत ल्याउने भएकाले गलत अभिव्यक्ति नदिन भन्नुभयो ।

ओलीले अन्य पार्टीको बहुमत नआउने तर एमालेको आउने भन्दै सोहीअनुसार आफ्ना कुरा राख्न पनि निर्देशन दिनुभयो । ‘हाम्रै साथी पनि कसैले बहुमत ल्याउँदैनन् भनेर पाक्कपुक्क बोल्दिन्छन्’, ओलीले भन्नुभयो, ‘एमालेले बहुमत ल्याउँछ, अरूले ल्याउँदैन । एमालेबाहेक अरूले बहुमत ल्याउँदैन भन्नुपर्यो । गल्ती बोल्नुभएन ।’

यसअघि प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा कानुनी माहोल बनाउन नसकेको भन्दै खरेलप्रति ओली असन्तुष्ट बनेको चर्चा थियो । लगत्तै खरेलले पदबाट राजीनामा दिनुभएको थियो ।

टिप्पणीहरू