​जंगी अड्डा न सिंहदरबार, कोही जाँदैनन्

आँखा चिम्ले पीडा, आँखा बन्द गरे पनि पीडा । आखिर दुनियाँ स्वार्थी न हो । यहाँ सुखमा साथ दिने धेरै हजारौं भेटिन्छन् । दुःखको आँसु एक्लै पिउनु पर्छ । यस्तै रहेछ संसारको रीत । मनभरी जोश थियो, जीवनमा धेरै गर्छु र गर्नु छ भन्नुहुन्थ्यो । दैव लाग्यो । भन्छन्, ऋण लागोस् दिन नलागोस् । तर, हामीलाई एकैपटक ऋण र दिन लाग्यो । 

पिँढीमा बसेर मेरै बाटो हेरेर 
बूढी आमा रुँदी हुन् मलाई सम्झेर 

यी र यस्ता थोरै गीत गाउनुभयो, जति गीत गाउनुभयो सबै गीत चर्चित । यही गीत रेडियो नेपालमा सुनेर हुर्किएको हुँ । उहाँ ०१२ सालको अर्थात् मभन्दा ४ वर्ष जेठो । एक दिन आँगनमा उनै बुद्धिकृष्ण लामिछाने आफन्तको साथ लागेर हात माग्न आउनुभयो । यस्ता गीतका सर्जक आफ्नै आँगनमा आउँदा भाग्यमानी ठानें । र, हामीबीच बेरियो मायाको डोरी फनफनी । विवाहमण्डपको जग्गेमा सातफेर घुमेर खायौं, सातौं जुनी सँगै मर्ने, सँगै बाँच्ने कसम, दुःख–सुख सँगसँगै काट्ने वाचा । विवाह गर्दा उहाँ रेडियो नेपालको जागिरे हुनुहुन्थ्यो । त्यो छाडेर नेपाली सेनामा जागिर खान पुग्नुभयो । त्यो बेला तलब मासिक तीन हजार थियो । कोखबाट ५ छोरी र २ छोराको जायजन्म भयो ।

५ छोरीको विवाह भइसक्यो । दुई छोरा अध्ययन गर्दै छन् । यी थिए जीवनका सुख, खुसी र उल्लासका दिन । हर्षका अध्याय । जब जीवनमा हर्षका अध्याय चल्दैथ्यो सबै झ्याम्मिन्थे बुद्धिकृष्ण बा भन्दै, घर आँगनभर मान्छे हुन्थे । तर खै कसको आँखा लाग्यो हाम्रो खुशीमाथि ? र सुरु भयो दुःखको अध्याय । सात वर्षदेखि पीडामा छौं । परदेसिएका धेरै छोरा र तिनको बाटो कुरी पिँढीमा बस्ने आमाको पीडालाई सम्झेर यस्ता कालजयी गीत गाई भावुक बनाउने, रुवाउने गायकका लागि आफ्नै आँगन परदेश बन्न पुगेको छ । पिँढीमा बसेर  सहपाठी, सहकर्मी कोही भेट्न आउँछन् कि भन्ने आसमा बाटो हेरेर बस्नुहुन्छ अचेल । तर, निभेको आगो, ओरालो लागेको जिन्दगीलाई साथ र हात दिने फुर्सद यो स्वार्थी दुनियाँमा कसलाई पो हुँदो रहेछ र ? हिजोका दिनमा आशा, ऊर्जा र साहसले भरिएका यी मान्छे जब–जब निराश बन्नुहुन्छ बेला–बेला आफ्नै जिन्दगी बोझ बन्न पुगेको बताउनुहुन्छ । एकातिर प्रेसर, सुगर र त्यहीमाथि थपियो प्यारालाइसिस ।

दैनिकी बनेको छ आफ्नै पिँढीमा बसेर टोलाउने । एक मुठी सास अड्याउनकै लागि सात वर्षदेखि संघर्षरत । तर, उहाँलाई यति चाँडै मर्न मन छैन । अभैm धेरै जनताका गीत गाउने रहर छ । डर छ यो रहर रहरमा मात्र सीमित हुने हो कि ? भक्तपुरको तिल्कोटडाँडामा छ घर । जुन भुइँचालोले भत्कायो । घर मात्रै होइन यससँगै मन पनि भत्कियो । त्यही भत्किएको घर नजिकै मनकारी विनयजंग बस्नेतहरूले टहरो हालिदिएका छन् । त्यही टहरोमा बसेर बाँचिरहेका छौं भनौं वा मृत्यु कुरिरहेका छौं । जेठो छोरा अध्ययनको सिलसिलामा विदेश पुगेको छ । त्यो पनि त्यही भत्किएको घर र जग्गा बन्धकी राखेर । कान्छो छोरा ब्याचलर लेभलमा । आम्दानी छैन भनौं नेपाली सेनाबाट पेन्सनस्वरूप मासिक प्राप्त हुने १२ हजार रुपैयाँ हो । त्यो रकम मासिक औषधोपचारमा खर्च हुन्छ । एक क्षण छाड्न पाउँदिन । दिसा, पिसाब एकै ठाउँमा । खेतीपातीबाट आएको थोरै रकमले दुई छाक हातमुख जुटाइरहेका छौं । उपचार गर्ने खर्च कहाँ खोज्नु ? कहाँ पाउनु ? 

केपी ओली नेतृत्वको सरकारले उपचार खर्चको नाममा केही साताअघि मात्र पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई ४२ लाख र देउवा सरकारले जातेजाते कांग्रेस नेता भीमसेनदास प्रधानलाई ५० लाख रुपैयाँ सहयोग ग¥यो । उनीहरू थिए पहुँचवाला । देउवा सरकारकै पालामा स्वीकृत भएको यो रकम यस्ता पहुँचवालाले लिई छाडे । तर, जनताका मनमुटुमा बस्ने गीत गायक सफल सर्जक, लोकगायक बुद्धिकृष्ण लामिछानेको उपचार खर्च त परको कुरा खोजीनीति समेत कसैले गर्दैनन् । राज्यको मान्छे ? राज्यले खोजीनीति गर्नुपर्ने हो । दुःख प¥यो हजुर भन्दै मागी हिँड्ने कुरा पनि भएन । रुँदै कहाँ जानु आँसु कसलाई देखाउनु ? कुनै समय रेडियो नेपालको जागिरे, गीतकार, नेपाली सेनाको जागिरे । यो सात वर्षको अवधिमा न त उहाँलाई भेट्न, हाम्रो बारेमा सोधखोज गर्न रेडियो नेपालका कोही आए न त आए नेपाली सेना, गीतकार, लोकदोहोरीका कोही प्रतिनिधि । कोही मन्त्री बने भने माला र खादा बोकेर नेताका दैलो–दैलो चाहर्दैमा यस्ता संघसंगठन र व्यक्तिलाई फुर्सद छैन । बुद्धिकृष्णको आँसु पुछ्ने र सोधखोज गर्ने फुर्सद कसैलाई छैन । 

हाम्रा दुःख र पीडामा कोही साथी छन् भने विनयजंग बस्नेत बाबु छन् । बेवारिसे लासको सद्गत गर्दै आएका व्यक्ति हुन् । बुबाआमा गुमाएका, श्रीमतीले छाडेपछि एक्लै । बेला–बेलामा घरमा आउँछन् के कसो छ बुबाआमा भन्छन्, सोधखोज गर्छन् । भूकम्प गएपछि उनैले विष्णु शर्माहरूलाई गुहारेर टहरो बनाइदिए । खाद्यान्न, दाल तरकारी सहयोग गरे । त्यसयता निरन्तर हाम्रा दुःखमा सँगै छन् । कृष्ण कँडेल भाइहरूले पनि सहयोग गरिरहेका छन् । बुबाले कोमल ओली नानीसँग भेट्ने तीव्र इच्छा राखेपछि उनै विनय बस्नेत बाबुले लिएर आए । त्यो समय दाजुलाई पकेट खर्च भन्दै १० हजार दिइन् । बुबालाई मोबाइल सहयोग गर्छु, आएर छिट्टै भेट्छु भन्थिन्, त्यसपछि हराइन् । माननीय बनेको व्यक्तिलाई यस्ता सर्जकको दुःख पीडा हेर्ने, सुन्ने फुर्सद कहाँ हुँदो हो ? नीर शाह, सन्तोष पन्त, हरिवंश आचार्यहरूसँग धेरै समय सँगै काम गर्नुभएको हो । बेला बेलामा नीर शाह राजा, सन्तोष पन्तलाई फोन लगाइदेऊ भन्नुहुन्छ । कहाँ खोज्न जाऊँ ? उनैले लेखेको गीत हो सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा । त्यही गीत सारेर रेखा शाह र प्रेमराजा महतहरू चर्चित बने ।

कोमल वलीले उनका धेरै शब्दलाई लयमा उतारिन् । त्यही पनि यो दुःखमा कोही छैनन् साथी । अरू कोही आएनन् भन्दा एकपटक कुन्ति मोक्तानहरू आए । उनीहरूले दुई वर्षसम्म औषधि सहयोग गरे । विनय बाबु फेरि एकपटक भगवान् बनेर आउनुभएको छ । भन्नुहुन्छ, आमा, म बुबालाई जसरी पनि बिसेक बनाउँछु भनेर पाटन अस्पतालमा ल्याएर भर्ना गरिदिनुभएको छ । राज्यले हामीलाई नहेरे पनि हाम्रा लागि सिंगै राज्य बनेर आउनुभएको छ । यसअघि पनि बानेश्वरको आयुर्वेदिक अस्पतालमा पु¥याउनुभएको हो । त्यहाँ दुई महिना उपचार गरेपछि अलिकति तंग्रनुभएको थियो । हिँडडुल गर्न सक्ने हुनुभएको थियो । अहिले फेरि थलिनुभएको छ । उहाँ मात्र होइन म आफैं पनि बिरामी छु । पाटन अस्पताल ल्याएर विनयबाबुले हामी दुवैलाई भर्ना गरेर राख्नुभएको छ । मलाई आफू जेसुकै हुँ केही पर्वाह छैन तर मेरो श्रीमान् छिट्टै निको भएर फेरि गीत गाएको हेर्ने र सुन्ने रहर छ । त्यही रहर मनमा सजाएर बाँचिरहेको छु । एक मुठी सास अड्याइरहेको छु ।

सहयोगको अपेक्षासहित 
दुर्गादेवी लामिछाने,
 फोन नम्बर ५०९१२३३  

टिप्पणीहरू