जाग्न थाले दलितहरु,मन्दिर पस्दा गयो ज्यान

जाग्न थाले दलितहरु,मन्दिर पस्दा गयो ज्यान

-पूजा लम्साल

मन्दिरमा पूजा गर्न पाउनुपर्ने आवाज उठाउँदा चितवनको भरतपुर महानगरपालिका ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको अमानवीय हत्या गरिएकोमा दोषीलाई कानुनी कारबाही गर्न प्रदेश १ का अधिकारकर्मीहरुले माग गरेका छन् ।

मन्दिरमा गैरदलित सरह दलितहरुले पनि पूजा गर्न पाउनुपर्ने माग गरेकै कारण भीमबहादुरको असोज २८ गते महानवमीको दिन ईंट्टा र पाइपले हानेर विभत्स हत्या गरिएकाले दोषीमाथि कडा कारबाही गर्न प्रदेश १ का अधिकारकर्मीहरुले माग गरेका हुन् ।

हिन्दूधर्म सम्प्रदायभित्रकै दलित समुदायले आफ्नो आस्थाको मन्दिरमा पूजा गर्ने प्रयत्न गर्दा जातकै आधारमा गरिएको क्रुर, अमानवीय र अपराधिक घटनाले हिन्दु धर्म,कानुनी राज्य,संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको दलित अगुवाहरुको भनाइ छ ।

घटना भएको पाँच दिन बितिसक्दा पनि जातीय विभेदकै आधारमा भएको घटना सम्बन्धमा प्रहरी बेखबर हुनु,राष्ट्रियस्तरका सञ्चारमाध्यम,मानवअधिकार आयोग, मानवअधिकारवादीहरु र नागरिक समाजको प्राथमिकताको विषय बन्न नसक्नुले अधिकारवादीहरुको साम्प्रदायिक चेतना,निश्पक्षता र समानतासहितको न्यायपूर्ण व्यवहारप्रति शंका उत्पन्न गरेको र विभेदकारी समाजको डरलाग्दो तस्बिर उजागर भएको अधिकारकर्मीहरुको धारणा छ ।

उक्त घटनाको संविधासभा सदस्य अनिता परियार,सुनसरीका अरुण सुन्दास,शान्ति गजमेर,मोरङका कपिल सुनार,अर्जुन ऋषिदेव, गोपाल नेपाली,अधिवक्ता जयराम सुन्दास, झापाका हुकुमसिंह नेपाली, इलामका प्रकाश परियारले निष्पक्ष छानबिनको माग गरेका छन् ।

त्यसैगरी धनकुटाका नारायण विश्वकर्मा, तेह्रथुमका रमेश विक, खोटाङकी रश्मी रसाइली र मिलन चहार, पाँचथरका छबिरमण सुन्दास, मानकाजी कोइराला, सखुवसभाका सन्तोष विक, भोजपुरका कल्पना घिमिरे ,ओखलढुंगाका जीवन परियार, उदयपपुरका खड्ग सेञ्चुरी, सोलुखुम्बुका धनकुमार विकलगायत ५५ जना अगुवाहरुले घटनाको विरोध गर्दै दोषीलाई कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभेदका आधारमा भएको त्यस किसिमको जघन्य आपराधिक घटनाप्रति घोर भर्त्सना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । घटनामा संलग्न दोषीहरुलाई कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’

टिप्पणीहरू