​बालिका ‘बलात्कार’ मा अर्का सैनिक पक्राउ

दुई महिना नबित्दै फेरि अर्का सैनिक प्रहरी खोरमा पुगेका छन् निलम्बित मेजर प्रभवविक्रम शाहकै शैलीमा आठ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा । बागबजारस्थित भर्खरै अवकाशप्राप्त तीनतारे जर्नेल बलदेव राजमहतको घर रेखदेख गर्ने जिम्मेवारी पाएका हुद्दा ज्ञानबहादुर गुरुङको हो यसरी मति बिग्रिएको ।  श्रीमती र एक छोरी साथैमा रहेका नुवाकोटे गुरुङले सोही घरमा डेरा गरी बस्ने आठ वर्षे बालिकामाथि गिद्धेनजर लगाएका थिए । १२ गते शनिबार बालिकाको स्कुल बिदा, उनी दाउ हेरेर बसिरहेका थिए ।

अपराह्न तीन बजेतिर आमा धारामा पानी थाप्न गएको मौका छोपेर सुटुक्क कोठामा छिरे । बच्चीलाई मिठाई दिए, म्वाइँ खाँदै काखमा राखे र चलाउन थाले । सोही समय बालिकाकी आमा कोठामा प्रवेश गर्दै गर्दा हर्कत छरपष्ट भयो । होहल्ला गरिन्, पतिलाई कोठामा बोलाइन् । गुरुङ त्यहाँबाट भागिसकेका थिए । आँखैअगाडि नाबालिका छोरीको शरीर कुनै व्यक्तिले चलाइरहेको देख्यो भने अभिभावकको हालत कस्तो होला ? यो घटनाका कारण विक्षिप्त परिवार न्याय खोज्दै सिंहदरबार प्रहरी प्रभाग पुग्यो र उजुरी लेखायो । अस्ति १४ गते जबर्जस्ती करणी उद्योगअन्तर्गत हुद्दा सिंहनाथ गणसम्बद्ध ज्ञानबहादुर गुरुङविरुद्ध मुद्दा दर्ज भएको छ ।

ती बालिकाले यसअघि पनि पटक–पटक सताइने गरेको बयान दिएकी छन् । यद्यपि, ज्ञानबहादुरले यो तथ्य स्विकारेका छैनन् । सैनिक प्रहरीका  अनुसार पोलिग्राफ रिपोर्ट आउन बाँकी छ । तीन दिनका लागि हिरासतमा राखिएकोमा ज्ञानबहादुरको म्याद १० दिन थपेर घटनाको अनुसन्धान हुँदै गरेको छ । सेनाका बर्दीधारी नै बालिका बलात्कार काण्डमा मुछिएको यो पहिलो घटना भने होइन ।  दुई महिनाअघि  पुस १४ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना मेजर पक्राउ परिसकेका छन् । बागलुङको २३ नम्बर बाहिनीमा कार्यरत प्रभवविक्रम शाह यस्तै अवस्थामा बुद्धनगरस्थित आफन्तको घरमा भेटिएका थिए । यस्तै, गोरखा घ्याल्चोक–९ मा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका अर्का सैनिक महेन्द्र श्रेष्ठ पनि हिरासतमै छन् ।

टिप्पणीहरू