हिमालयन बैंकको अघिल्तिर राष्ट्र बैंक हेरेको हेर्यै, ब्याजदर फेरेको फेर्यै

हिमालयन बैंकको अघिल्तिर राष्ट्र बैंक हेरेको हेर्यै, ब्याजदर फेरेको फेर्यै

नेपाल राष्ट्र बैंकको निर्देशनलाई लत्याउने बैंकहरुमा हिमालयन बैंक पनि थपिएको छ । आफू मातहतका बैंक तथा वित्तीय संस्थाले अटेर गर्दा केन्द्रीय बैंक भने निरिह देखिन्छ ।

राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनको निक्षेपको ब्याजदरसम्बन्धी व्यवस्थालाई हिमालयन बैंकले ठाडै उल्लंघन गर्दा पनि केन्द्रीय बैंकको नेतृत्वले मौनता साँधेको पाइएको हो । हिमालयनले राष्ट्र बैंकको निर्देशन विपरित प्रकाशित गरेको सूचना र ब्याजदरप्रति राष्ट्र बैंकको मौनतामा रहस्य लुकेको बैंकरहरुले बताएका छन् ।एकीकृत निर्देशनको बुँदा नम्बर १ मा प्रत्येक महिनाको पूर्वार्धमा प्रकाशित गरिने ब्याजदरको सूचनाबमोजिम त्यो महिनाभर ब्याजदर परिवर्तन गर्न पाईंदैन भनिएको छ । तर,बोल कबोलको आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न पाइने छैन भन्ने व्यवस्था विपरित हिमालयनले नयाँ ब्याजदर प्रकाशित गरेको छ ।

“लगत्तै कात्तिक १ गतेदेखि लागू हुनेगरी प्रकाशित गरेको अर्को सूचनामा भने संस्थागत निक्षेपसम्बन्धी ब्याजदर ११ दशमलव ६७ सम्म पुर्याइएको छ ।”

हिमालयन बैंकले असोज १ गते प्रकाशित गरेको संस्थागत निक्षेपसम्बन्धी ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म तोकिएको र न्यूनतम ५० लाख रुपैयाँ जम्मा गर्न भनिएको छ । तर बैंकले लगत्तै कात्तिक १ गतेदेखि लागू हुनेगरी प्रकाशित गरेको अर्को सूचनामा भने संस्थागत निक्षेपसम्बन्धी ब्याजदर ११ दशमलव ६७ सम्म पुर्याइएको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार संस्थागत ब्याजदर तीन महिनापछि अर्थात् पुस १ गते मात्र परिवर्तन गर्न पाइन्छ । तर अन्य ब्याजदरझैँ संस्थागत ब्याजदर विशेषगरी बोलकबोल गरेर लिइने निक्षेपमा दिइने ब्याजदरमा तीन महिनाअघि परिवर्तन गर्न नपाइने व्यवस्थाको ठाडो उल्लंघन गर्दा पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,डेपुटीहरु निलम तिम्सिना र बमबहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले देखाएको मौनता बुझिनसक्नु भएको स्रोतको दाबी छ ।

टिप्पणीहरू