भारतसङ्ग हारको कारण खोले नेपाली कप्तानले

भारतसङ्ग हारको कारण खोले नेपाली कप्तानले

साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु आज स्वदेश फर्किएका छन् । यसअघि राजीनामा दिएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन् ।

विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेलको अभाव हुँदा पराजित भएको बताएका छन् । तालमेलको अभाव हुँदा हारिने कुरोको जानकारी हुँदाहुँदै उनले विमानस्थलमा त्यहि कुरोलाई जोड दिएका छन् । उनले भने, ‘खेलाडीहरुको तालमेल नमिल्दा विजयी हुने लक्ष्य पूरा हुन सकेन ।’

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गर्दै इतिहास रचेको उपविजेता टोलीलाई विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

पाँच देशले सहभागिता जनाएको उक्त प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भएको थियो । जसमा नेपालले लिग चरणका चार खेलमध्ये दुई खेलमा जित निकाल्दा एक खेलमा भारतसँग पराजित भएको थियो । बंगलादेशसँग एक खेलमा बराबरी खेल्दै फाइनल प्रवेश गरेर नेपालले इतिहास रचेको हो ।

शनिबार मालेमा भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएपछि उपविजेतामा चित्त बुझाएको थियो । लिग चरणमा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।

टिप्पणीहरू