जति ठूलो नेतृत्व,उति चर्को गुनासो

जति ठूलो नेतृत्व,उति चर्को गुनासो

नेकपा (एकीकृत समाजवादी) मा पनि केन्द्रीय कमिटी विस्तार र नेताहरुको कार्यविभाजनलाई लिएर असन्तुष्टि चुलिएको छ । हिजो शनिवार ३४ जनालाई केन्द्रीय कमिटीमा थपेर कार्यविभाजन गरिएको अन्तरपार्टी निर्देशन (अपानि)-२ सार्वजनिक भएपछि केही नेता असन्तुष्ट बनेका हुन् ।

नेकपा (एमाले) बाट बिद्रोह गरी गठित एकीकृत समाजवादीले यसअघि ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । तर,अस्ति जारी गरिएको अपानिमा भने केन्द्रीय सदस्यको संख्या ३३५ पुर्याइएको छ । असन्तुष्टहरुले बिना मापदण्ड नेताहरुले आफू अनुकूल संख्या थपेर कमिटी विस्तार गरेको गुनासो पोखेका छन् ।

केन्द्रीय कमिटी विस्तार र कार्यविभाजनप्रति अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले त सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् । नेताहरुले कुन विधि र मापदण्डका आधारमा कमिटी विस्तार गरेको हो भनेर उनले नेताहरुलाई प्रश्नसमेत गरेका छन् ।

एमालेमा विधि,पध्दति र संस्थागत निर्णय नहुँदा पार्टी केपी ओलीको निजी कम्पनिजस्तो बनेको भन्दै विद्रोह गर्ने नेताहरु अहिले ओलीकै बाटोमा हिँडेको आरोप कतिपयले लगाएका छन् । तर, समाजवादीका एक नेताले भने त्यस्तो आरोपलाई मनोगत भन्दै कार्यक्षेत्रको दायरा फराकिलो बनाउँदा कमिटी ठूलो हुन पुगेको दावी गरे । ‘आवश्यकताअनुरुप नै कमिटी बनाइएको हो । कार्यक्षेत्रको दायरा फराकिलो हुँदा कमिटी केही ठूलो हुन पुगेको हो । नेतृत्वले एकलौटी गरेको होइन’, उनले भने ।

जम्बो कमिटी बनाइएको भन्ने प्रश्नमा पनि उनले आफ्नै तर्क गरे । यसअघि नेकपा,एमाले र माओवादी केन्द्रले समेत ठूला कमिटी बनाएको दृष्टान्त दिँदै उनले अहिलेको कमिटीलाई सापेक्षित रुपमा ठूलो मान्न नहुने जिकिर गरे । भने, ‘नेकपामा पनि ४४१ जनाको केन्द्रीय कमिटी थियो । माओवादीले चार हजारको कमिटी बनाएकै हो । केपी ओलीले पनि १५ सयको कमिटी बनाएको देखिएकै हो । त्यो सबै हेर्दा त हाम्रो साइजेबल नै हो ।’

यता, कार्यविभाजनमा पुराना नेतालाई बेवास्ता गरिएको गुनासो पनि छ । पुराना नेता स्थायी कमिटीमा सीमित हुँदा धेरै युवा नेता भने पदाधिकारीमा परेका छन् । ३० वर्षअघि नै कुनै जनवर्गीय संगठनको अध्यक्ष भैसकेका नेता अहिले स्थायी कमिटी सदस्य छन् । तर,त्यहि जनसंगठनको नेतृत्वबाट हालसालै बाहिरिएकाहरु पदाधिकारी बनेका छन् । ‘असन्तुष्टि होइन,सामान्य गुनासो हो । पार्टीले विस्तारै मिलाउँदै जान्छ’,तीनेताले भने ।

यस्तो छ पछिल्लो कार्यविभाजन

३३५ केन्द्रीय सदस्यसहित केन्द्रीय आयोग,सल्लाहकार परिषद,ज्येष्ठ कम्युनिष्ट मन्च,केन्द्रीय परिषद गठन गरेको नेकपा एकीकृत समाजवादीले ४३७ जना नेताको जिम्मेवारी तोकेको छ । जसअनुसार अध्यक्ष माधवकुमार नेपाललाई समग्र पार्टीको नेतृत्व र संघीय संसदीय दल नेताको जिम्मेवारी दिइएको छ । यसअघि वरिष्ठ नेता रहनुभएका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेतामा राखिएको छ । उहाँलाई विदेश विभाग प्रमुख बनाइएको छ ।

झापा आन्दोलनका संस्थापक नेतासमेत रहनुभएका पाका नेता मुकुन्द न्यौपानेलाई तेस्रो वरीयतासहित उद्योग,वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इञ्चार्जको जिम्मा दिइएको छ । चौथो वरीयतामा प्रदीप नेपाललाई राखिएको छ । उहाँलाई प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

सात उपाध्यक्षमध्ये राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुखको जिम्मा दिइएको छ भने प्रमेश हमाललाई स्कुल विभाग प्रमुख बनाइएको छ । उपाध्यक्षहरु घनेन्द्र बस्नेतलाई प्रदेश १ को इञ्चार्ज,केदार न्यौपानेलाई बाग्मती, केशवलाळ श्रेष्ठलाई गण्डकी र धर्मनाथप्रसाद साहलाई प्रदेश २ को इञ्चार्ज तोकिएको छ । उपाध्यक्ष जयन्ती राईलाई महिला फाँट इञ्चार्ज बनाइएको छ ।

महासचिव डा. बेदुराम भुसाललाई संगठन विभाग प्रमुख र राष्ट्रियसभा संसदीय दल नेताको जिम्मेवारी दिइएको छ भने उपमहासचिव प्रकाश ज्वालालाई संगठन विभागको उपप्रमुख र कर्णाली प्रदेशको इञ्चार्ज बनाइएको छ । अर्का उपमहासचिव गंगालाल तुलाधरलाई केन्द्रीय कार्यालय तथा विपद व्यवस्थापन र शिक्षा विभागको प्रमुख तोकिएको छ भने डा. विजय पौडेल मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख बन्नुभएको छ ।

प्रवक्तासमेत रहनुभएका उपमहासचिव जगन्नाथ खतिवडाले प्रचार विभाग तथा सञ्चार फाँट इञ्चार्जको जिम्मेवारी पाउनुभएको छ।

समाजवादीमा फर्किंदै रावल

कार्यविभाजनमा असन्तुष्टि बढेको भनिएका बेला एमाले उपाध्यक्ष भीम रावलसहितको एक समूह भने एकीकृत समाजवादीमा फर्किने तयारीमा रहेको चर्चा छ ।

एमालेभित्र लामो समय माधव नेपाल समूहमा रहनुभएका रावल पार्टी एकता जोगाउन भन्दै १० बुँदे सहमति गरेर एमालेमै रहनुभएको थियो । तर,आफ्नै प्रदेशमा १० बुँदे कार्यान्वयन नभएपछि असन्तुष्ट बन्नुभएका उहाँ एमाले छोड्ने मनस्थितिमा पुग्नुभएको बताइन्छ ।

पछिल्लो विधान महाधिवेशनसम्म आइपुग्दा रावल एमालेमा रहन नसकिने निष्कर्षमा पुगेको र समाजवादीका नेताहरुसंग निरन्तर छलफलमा रहेको जानकारहरु बताउँछन् । एमालेको आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमा आफ्नो स्थितिको आंकलन गरेर रावलले समाजवादीमा फर्किने तयारी थालेको दाबी गरिएको छ ।

त्यसो त माधव समूहमा हुँदा सुदूरपश्चिममा रावलको बलियो उपस्थिति थियो । तर,एमाले विभाजनपछि उहाँ निकट भनिएका अधिकांश एकीकृत समाजवादीमा खुलेर लगेपछि उहाँ एक्लिनुभएको छ । केही दिनअघि मात्रै एमाले सुदूरपश्चिमका प्रभावशाली नेता भानुभक्त जोशी समाजवादीमा फ़र्किएपछि रावल थप कमजोर बनेको विश्लेषण भैरहेको छ ।

[pdf-embedder url=”https://appharuspace.fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/10/18131615/nekapa-as.pdf” title=”nekapa as”]

टिप्पणीहरू