भूटान र चीनबीच सीमा सम्झौता, भारतको नोटिसमा !

भूटान र चीनबीच सीमा सम्झौता, भारतको नोटिसमा !

दुई देशबीच वर्षौंदेखिको सीमा विवाद हल गर्न भूटान र चीनले ‘तीन चरणको रोडम्याप’ सम्झौता गरेका छन् ।

भूटानले दाबी गरेको भूभागमा चीनले सडक विस्तार गरेको आरोप लगाएपछि भूटान,चीन र भारतको त्रिदेशीय सीमाक्षेत्र दोक्लममा चिनियाँ र भारतीय सेनाबीच ७३ दिनसम्म तनावपूर्ण आमनेसामने भएको चार वर्षपछि यो सम्झौता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भूटान र चीनबीच सीमा सम्झौता भएको विषय भारतको जानकारीमा आएको बताएका छन् ।

उनले गत बिहीबार भनेका छन्,‘हामीले भूटान र चीनबीच एमओयुमा हस्ताक्षर भएको कुरालाई नोट गरेका छौं । चीन र भूटानबीच सन् १९८४ यता सीमा वार्ता चलिरहेको छ । भारत पनि चीनसँग यसैगरी सीमा वार्तामै बसिरहेको छ ।’

उता,भूटानको विदेश मन्त्रालयले चीनसँग तीन चरणको रोडम्याप सम्झौताले सीमा वार्तालाई नयाँ गति प्रदान गर्ने विश्वास लिएको छ ।

‘रोडम्याप कार्यान्वयनले सीमावार्तालाई सफल निष्कर्षमा पुर्याउने विश्वास लिइएको छ,’ मन्त्रालयको औपचारिक विज्ञप्तिमा जनाइएको छ ।

भूटान र चीनबीच झण्डै चार सय किलोमिटर लामो सीमा छ । सीमाबारे सन् १९८४ यता दुई देशबीच २४ पटक वार्ता भइसकेको छ ।

टिप्पणीहरू