जताततै सवारी दुर्घटना,११ को गयो ज्यान

जताततै सवारी दुर्घटना,११ को गयो ज्यान

हिजो मुलुकका विभिन्न भागमा भएका सवारी दुर्घटनामा ११ जनाको निधन भएको छ । सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेमा भएका सवारी दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो ।

सप्तरीको सुरुङ्गा नगरपालिका–३ कर्हवा चोकमा प्र.३–०२–०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री स्थानीय हदियाका ७० वर्षीय रामेश्वर चौधरीको मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४, लादेमा प्रदेश ०२–००१ ख ०१६६ नम्बरको सवारी साधन दुर्घटना हुँदा दैलेखको नारायण नगरपालिका–११ बस्ने १८ वर्षीय शुशिल रावतसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका नौ जनामध्ये चार जना डिस्चार्ज भएका छन् भने अन्य पाँच जनाको उपचार भइरहेको छ ।

कैलालीको टीकापुर नगरपालिका–५, पार्करोडमा से.६प १९३१ नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक स्थानीय गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र मोटरसाइकलमा सवार १८ वर्षीय केशव मगर हुन् । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जना आशिष मगरको भने उपचार भइरहेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–२, जुडीमा बा.४८प २२५५ नम्बरको मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार स्थानीय २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दिपलाल महरा हुन् । दुर्घटनामा घाइते भएका स्थानीय २२ वर्षीय लालबाबु पासवानको भने स्थानीय हेल्थ केयरमा उपचार भइरहेको छ ।

उता, मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, लामिबगरमा ना।१ ज ४५११ नम्बरको सुमो दुई सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका–१६, गोदावरी बस्ने ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका–७, गोविन्दपुरका ५० वर्षीय रामसनही राम हुन् । दुर्घटनामा घाइते भएका सुमो चालकसहित चार जनालाई हेटौंडास्थित सन्चो अस्पताल र अन्य चार जनालाई ललितपुरको स्टार अस्पतालमा भर्ना गरिएको छ ।

पोखरा महानगरपालिका–२६, सुन्दरी बजारमा ग.१२ प ४०३२ नम्बरको मोटरसाइकल र ग.१ ज ६८७८ नम्बरको पिकअप भ्यान ठोक्किँदा मोटरसाइकलमा सवार मादी गाउँपालिका–५ मिजुरेडाँडा बस्ने ४५ वर्षीय सूर्यबहादुर क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सन्दिप केसीको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

त्यसैगरी बाँकेको खजुरा गाउँपालिका–३, धौलागिरीमा भे.१ ह ७०२ नम्बरको अटो हिजो दुर्घटना हुँदा अटोमा रहेका स्थानीय ४५ वर्षीया प्रेमकला सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू