मासुसँगै फलफूल र हरियो तरकारी पनि महङ्गियो

मासुसँगै फलफूल र हरियो तरकारी पनि महङ्गियो

दशैं लागेसँगै राजधानी काठमाडौंमा फलफूल र हरियो तरकारीको भाउ ह्वात्तै बढेको छ । यो वर्ष च्याङ्ग्राको भाउ पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । खसीको मासु ठाउँअनुसार किलोमा ५० देखि १ सय रुपैयाँसम्म महँगो भएको छ ।

यहि बीचमा फलफूल र हरियो तरकारीको मूल्यसमेत महँगो भएकोमा उपभोक्ताहरुले गुनासो गरेका छन् । फूलपातीपछि विभिन्न स्थानमा फलफूल र हरियो तरकारी किन्न पुगेका उपभोक्ताहरुले मूल्य चर्को भएको गुनासो गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वर,पुरानो बानेश्वर,महाराजगञ्जलगायत प्रमुख चोकहरुमा फलफूल किन्न पुगेका उपभोक्ताहरुले उक्त गुनासो पोखेका छन् ।

दशैंमा आफन्तको घर जाँदा कोसेलीको रुपमा बोक्न सजिलो हुने तर मूल्य बढेकाले उपभोक्ताहरु हच्किएका हुन् । फलफूलको मूल्यमा एकरुपता समेत नभएको उनीहरुले गुनासो गरे । चाडबाडको मुखमा सरकारले बजार अनुगमन नगरेकाले फलफूललगायतका दैनिक उपभोग्य सामाग्रीको भाउ बढेको बताइन्छ ।

उपभोक्ता नवीन ढकालका अनुसार एक हप्ताअघि दुई सय रुपैयाँमा किनेको स्याउको मूल्य २५० रुपैयाँभन्दा माथि पुगेको छ । सरकारी पक्षले बजार नियमन नगरिदिँदा जथाभावी मूल्य बढेको उपभोक्ता टीका खनालले बताए ।

फलफूल व्यापारीहरुले भने चीनबाट फलफूल नआएकाले महंगो भएको बताएका छन् । कुलेश्वरस्थित फलफूल थोक बजारमा समेत भाउ फरक परेकाले उपभोक्ताले चर्को मुल्य तिर्नुपरेको व्यापारी चन्द्रा श्रेष्ठको भनाइ छ ।

नेपालमा उत्पादित फलफूलले दुई महिना पनि बजार धान्दैन । विशेषगरी चीनबाट पर्याप्त सवारीसाधन नआउँदा फलफूल महंगो भएकोमा व्यापारीहरुको एक मत छ ।

टिप्पणीहरू